बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा  विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । यसअघि आइतबार बिहानै  प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको छ ।

आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुईजना घाइते भएका थिए । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);