काठमाडौं, १९ पुस । सुकुम्बासी बस्तीमा बस्दै आएकाहरु बर्ष भरी नै समस्या ग्रस्त जीवन बिताउन बाध्य छन् । त्यसमा पनि अहिले बढ्दै गएको चिसोका कारण सुकुम्बासीहरु समस्याको चरम भोगाइमा छन् । चुनावका बेला भोटमाग्दा दिएका आश्वासन सरकारमा पुगेपछि नेताहरुले बिर्सिएको सुकुम्बासीहरुको गुनासो छ ।
कोटेश्वर स्थित मनोहरा खोलाको किनारमा रहेको सार्वजनिक जग्गामा टिनले छाएका झुपडीहरु छन् । जहाँ त्रिपालले बेरिएका झुपडी भित्र यत्रतत्र छरिएका भाँडाकुडा, फाँटेका कपडा, नजिकै मनोहर नदी सुसाइरहेको छ । विहान बेलुका सहनै नसकिने चिसो छ । यही चिसोकाबीच कष्टकर जीवन विताइरहेका छन् सुकुम्बासी परिवार ।
मनोहरा नदीको किनारमा झुपडी बनाएर सुकुम्बासीहरु बस्न थालेको बर्षौ भयो । चिसो दिनानुदिन बढ्दै छ । तर, यी सुकुम्बासी परिवारलाई न बाक्लो ओड्ने कपडा छ । नत, ओछ्याउने । मिठो मसिनो खानेकुरा त धेरै टाढाको कुरा भइसक्यो । विहान, बेलुका खाना जुटाउन पनि यी परिवारलाई सकस छ ।
यहाँ कोही गाउँमा छोराछोरीलाई पढाउने स्कुल नभएर आएका छन् भने कसैको आफ्नो नाममा केही नभएकाले १२ बर्ष देखि यही सुकुम्बासी बस्ती नै आफ्नो सम्पत्ती भएको बताउँछन् । सुकुम्बासी बस्तीमा खानेपानीको पनि उस्तै समस्या छ । चुनावका समयमा भोट माग्न आउने नेताहरुले बेवास्ता गर्ने गरेको उनीहरुको दुखेसो छ ।
सरकारले बास्तवीक सुकुम्बासीको पहिचान गरि समस्या समाधान गर्न आश्वासन दिएपनि समस्या जस्ताको तस्तै रहेको उनीहरु बताउँछन । १९ बर्ष देखि यस स्थानमा बस्दै आएका यी सुकुम्बासीको कहिकतै एक इन्च पनि जमीन छैन ।
यी सुकुम्बासीहरु त प्रतिनिधि उदाहरण मात्रै हुन । काठमाडौंका थुप्रै नदी किनारका सार्वजनिक ठाउँहरुमा सुकुम्बासीका नाममा बस्दै आएका छन् । बसेकाहरुसँग सुकुम्बासी परिचय पत्र सबैसँग भेटिदैन ।
बसेकाहरु सबै सकुम्बासी हो या होइनन, सरकारले अझै छुट्याउन पनि सकेको छैन । सरकारले पटक पटक सुकुम्बासीको पहिचान गरि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने आश्वासन दिंदै आएको छ तर हालसम्म पनि उनीहरुको समस्या जस्ताको तस्तै छ ।