निषेधाज्ञाका कारण बाराको सुकुम्वासी बस्तीमा चुल्हो नै बल्न छाड्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निषेधाज्ञाका कारण बाराको सुकुम्वासी बस्तीमा चुल्हो नै बल्न छाड्यो

श्याम गुप्ता
बारा, ३० भदौ ।
महिनौँको लकडाउन अनि लामो निषेधाज्ञाका कारण बाराको बिश्रामपुर गाउँपालिकाका सुकुम्वासी बस्तीमा धरैको चुल्हो बल्न छोडेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा चलाईरहेका सुकुम्वासीलाई अहिले न काम छ न खानलाई रासन । गाउँपालिकाले बाँडेको राहत पनि वास्तविक विपन्नसम्म नपुगेको उनीहरुको गुनासो छ ।

कोरोना कहरले विशेषगरी निम्न बर्गलाई खान समेत धौधौ भइरहेको छ । बारा बिश्रामपुर गाउँपालिकाका सुकुम्बासीहरुको हालत पनि निकै कष्टकर बनेको छ । उनीहरुसँग न खानलाई रासन छ न गर्नलाई कुनै काम नै ।

उनिहरुलाई काम नगरी कहाँ पाउनु माम जस्तै भएको छ । बिश्रामपुर गाउँपालिका–३ की हृदय देबी यादवको भान्सा केही अन्न बाँकी छैन घरमा चुलो बाल्न नै समस्या भएको छ । जारी निषेधाज्ञाका कारण काम गर्न पाएका छैनन्, न सरकारबाट कुनै राहत नै पाएका छन् ।

बारा बिश्रामपुर गाउँपालिकाको सुकुम्बासी बस्तीमा सबैको यो साझा समस्या हो । खर्च र खाद्यान्न सकिए पछि दैनिकी टार्न मुस्किल भएको छ । बिश्रामपुर गाउँपालिकामा रहेको सुकुम्बासीहरु मध्ये करिब २५ घरको चुलो त निभिनै सकेको छ । दैनिक मजदुरी गरेर छाक टार्ने र बर्सेनी भारत गएर कमाई गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने यहाँका सुकुम्बासी र दलित समुदायको बाध्यता हो ।

लकडाउनको अवधिमा खाद्यान्न अभावमा छाक टार्न समस्या हुने विपन्न परिवारलाई वितरणका लागि प्रदेश सरकारले दिएको १५ लाख रुपैंयाँको कार्य विधि तयार पारेको थियो । तर मनोमानी ढंगले राहत बाँडेको हुनाले राहत नपाएको सुकुम्वासीहरुको गुनासो छ ।

गाउँपालिकाको तथ्यांक अनुसार गाउँपालिकामा करिब ४ सय २५ सुकुम्वासी परिवार बस्दै आएका छन् । सुकुम्वासी परिवारले खान नपाएको बेला गाउँपालिका भने कर्मचारी अभावको बहाना देखाउँदै तत्काल राहत वितरण नहुने भनी पन्छिँदै आएको छ ।

कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले विशेषगरी न्युन बर्गका समुदायलाई प्रभावित गरेको छ । यस्तो समयमा उनीहरुका लागि तत्कालका लागि राहत तथा दैनिकी गुजाराका लागि सुरक्षित तवरबाट रोजगारी दिनु जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);