काठमाडौं, १७ पुस । सरकारले सूचना प्रविधि विधेयकका विषयमा नकारात्मक हल्ला बढी चलेको बताएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले कानुनमा भएका राम्रा कुराहरु लुकाएर भ्रम र नकारात्मक हल्ला बढी चलेको बताउनुभएकाे हाे ।
बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले कसैलाई जिस्काएमा, होच्याएमा, मान मर्दन गरेमा दण्ड जरिवना नहुने तर पटक पटक यस्तो कार्य गरेमा सजाय हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘जिस्काएको, होच्याएको, मान मर्दन गरेको कुरामा सरकारले सबलाई तह लगाउन ल्याएर आयो यस्तो होइन । ओपन सोसाइटीको जे मान्यता छ त्यो चलोस । तर त्यहाँ एउटा कुरा एउटा कुरा लुकाइएको छ । ‘तरपनि, वा’ भन्ने हुन्छ नी कानुनमा त्यो चिज लुकाएर आफुलाई के चाहिएको छ त्यो हप्काउने तर्साउने जिस्काउनेको अगाडी एउटा शब्द छ । ‘निरन्तर’ भन्ने शब्द खुसुक्क खल्तिमा हालेर सरकार विरुद्ध नागरिकलाई उचाल्न सकिन्छ कि भन्ने एउटा फुस्रो प्रयास सुरु भएको छ । त्यो ‘निरन्तर’ भन्ने शब्द छ । पटक पटक भन्ने पनि होला । जुन कुरा नियत र उद्देश्यसँग जोडिन्छ । स्वस्थ र मर्यादासँग लेख्नका लागि कसैलाई पनि हामीले त्यो कुरा गरेका छैनौँ ।’’
बास्कोटाले समितिमा भएको छलफलमा प्रतिपक्षी दलका ८ सुझाव सहित ३६ वटा संशोधन गरिएको उल्लेख गर्दै विधेयकको धारा ४९ को १ (ग) हेर्न अनुरोध समेत गर्नुभएको छ ।
‘सरकारले पेश गरेको विधेयक उपसमितिले थप समृद्ध बनाएको, प्रतिपक्षी दलका ८ सुझाव समेटिएको, ३६ संशोधन गरिएको कुरा नहेर्ने । अनि गर्ने के भने आफुलाई के लाग्या छ आफै भ्रम सिर्जना गर्ने ?’, बास्कोटाले प्रश्न गर्नुभयो ।
पत्रकार सम्मेलनमा बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्ने नभइ सञ्चालन गर्ने कम्पनी दर्ता हुने प्रावधान राखिएको बताउनुभयो ।
‘‘दर्ता हुने कुराको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता जति छन् सबै दर्ता हुनुपर्ने हो भन्ने हल्ला छ । हरेक नागरिक दर्ता हुनुपर्ने भन्ने छ । फेसबुक प्रयोकर्ता ९० लाख छन् । ट्वीटर ४० लाख प्रयोगकर्ता छन् । कतिले वि च्याट पनि चलाउँछन् । ती बसै दर्ता हुनुपर्छ की जस्तो गरि हल्ला चलाइएको छ । म ठाडै त्यसलाई खारेज गर्छु’’, उहाँले भन्नुभयो ‘‘मेरो आग्रह र अनुरोध के छ भने कोही पनि नेताहरुले बोल्दा कानुनी प्रवन्ध के छ, त्यसरी बोल्नुपर्यो नी । बजार हल्लाको भरमा वा पूर्वदृष्टिको भरमा यो गरौँ त्यो गरौ भन्ने हुँदैन ।’’
सरकारले जसलाई मन लाग्यो त्यसलाई कारवाही, दशी प्रमाण र तथ्यका आधारमा कारवाही हुने कानुनी प्रवन्ध गरिएको उहाँले बताउनु भएको छ ।
‘‘सरकारले जसलाई मनलाग्यो त्यसलाई कारवाही गर्छ भनेर हल्ला गर्नेहरुलाई धारा १५ हेर्न अनुरोध गर्छु । समितिले पास गरेको विधेयकको १५ को उपदफा २ हेर्नुप-यो त्यो सरकारले होइन् । कसैको बारेमा उजुरी पर्यो भने त्यहाँ त कानुनी प्रवन्ध गरिएको छ नी । दशी प्रमाण, तथ्यको आधारमा हुन्छ नी । सजाय फैसला हुँदा त्यो हिसाब छ र सरकारले गर्ने पनि होइन् । यो एउटा कुरा म स्पष्ट गर्न चहान्छु ।’’
सरकारले सबैका लागि बराबर कानुन ल्याउन चाहेको र सत्य छोपेर नछोपिने उहाँले बताउनुभयो । कुनै पनि व्यक्तिले सार्वभौम सत्ताका विरुद्ध, नागरिकबीच जातिय, धार्मीक, क्षेत्रिय साम्प्रदायिकतामा खलल पुर्याउने कार्य गरेमा उनीहरुका लागि कानुन आकर्षित हुने उहाँले बताउनुभयो ।