काठमाडौं, १७ पुस । नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको रकम भुक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएकोले यथासिघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताउनुभयो । कनोडिया महालक्ष्मी सुगर्स मिलका सञ्चालक हुनुहुन्छ ।
राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ । प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताउनुभयो।
केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचन सम्बन्धि प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उहाँले बताउनुभयो । बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताउनुभयो । उहाँले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्ममा निर्णय हुने सम्भावना रहेको बताउनुभयो ।
पार्टीभित्रको आन्तरिक किचलो धेरै दिन रहँदैन
पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उहाँले दाबी गर्नुभयो । पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भएपनि राष्ट्रियसभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गर्नुभयो । सरकारले ल्याएको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा ऐनका सन्दर्भमा पनि बैठकमा कुरा उठेको छ । बिहीबारको बैठकमा असन्तुष्ट पौडेल पक्षका नेताहरुको भने सहभागिता थिएन् ।




