प्रदेश सभा सदस्यबाट मात्र राजीनामा दिएको हुँ, माओवादी हुन्न : अमरबहादुर डाँगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश सभा सदस्यबाट मात्र राजीनामा दिएको हुँ, माओवादी हुन्न : अमरबहादुर डाँगी

काठमाडौं । लुम्बिनी प्रदेश सभामा सत्ता समीकरणको लागि सांसदको संख्या जोड घटाउ भइरहेको बेला एमालेका दाङ जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले आफ्नो पदबाट राजीनामा दिए ।

नेकपा एमालेमा नेपाल खनाल पक्षका भनेर चिनिने डाँगीले एमालेकै मुख्यमन्त्री शंकर पोखरेललाई अप्ठेरोमा पार्न पदबाट राजीनामा दिएको विश्लेषण गरिएको छ । प्रदेश सभा सदस्यबाट राजीनामा दिएका डाँगी माओवादीमा प्रवेश गर्ने हल्ला चलेको छ ।

के उनी माओवादीमा प्रवेश गर्न लागेका हुन् त ? अब उनको राजनीतिमा कस्तो भूमिका हुन्छ ? यसै विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

एमालेको प्रदेश सभा सदस्यबाट राजीनामा दिने बित्तिकै माओवादी केन्द्रमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने हल्ला छ , माओवादीमा प्रवेश गर्न लाग्नुभएको हो ?

होइन, त्यो हल्ला मात्रै हो । त्यो कल्पना बाहिरको कुरा हो ।

एमाले भित्रै जता ठाउँ हुन्छ, म त्यहीँ हुन्छु । म प्रेसरको रोगी, फोहोरी राजनीति, तानातान भयो । त्यसैले बरु राजीनामा दिएर आराम गर्छु भनेर मैले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको हो ।

माओवादीमा जान होइन । एक डेढ महिना आराम गर्छु त्यस पछि एमालेमा नै क्रियाशील हुन्छु ।

यसको अर्थ एमाले भित्र संघर्ष गरेर बस्ने भन्न खोज्नुभएको हो ?

मेरो पुरानो संगत भएका नेताहरु एमाले भित्रै छन् । म अन्त कता जाउँ ।

मेरो पुरानो संगती माधव नेपाल, झलनाथ खनालहरु हो । उहाँहरुसँग पनि अहिले मेरो कुनै कुरा भएको छैन । मलाई सारै असजिलो कस्तो कस्तो वातावरण लाग्यो । तानातान छिनाछिन भयो । म ७१ वर्षको बुढो मान्छे, रोगी भएको हुनाले अहिले आराम गर्नुप¥यो भन्ने मात्र हो । मेरो अरु त्यस्तो केही छैन ।

भोलि वृहत पार्टी एकता भयो भने सबै एक ठाउँमा हुने कुरा अलग हो । नत्र मेरो अहिले अन्त त्यस्तो कुनै सोच छैन ।

अहिले एमाले संकटको अवस्थामा छ, तपाईँको भूमिका चाहीँ के हुन्छ त ?

केपीले माधव–झलनाथ समूहलाई पनि सम्मान गर्नु पर्यो । उहाँहरुको पार्टीमा आवश्यकता छ ।

प्रदेशमा शंकर पोखरेलले मेरो आवश्यकताको कुरा गर्दा मैले यही कुरा भनेको थिएँ कि, तपाईँहरुले जति मेरो आवश्यकता महशुस गर्नुभएको छ त्यो भन्दाबढी आवश्यकता माधव र झलनाथहरुको छ, तपाईँले सल्लाह दिनु पर्यो ।

म त सामान्य फुटपाथको मान्छे । बुढो पनि भै सकेको छु । वामपन्थी समूहलाई मेरो वौद्धिक सहयोग हुन्छ । राजनीतिक रुपमा म माओवादी चाहीँ हुन्न ।

पार्टीमा नै जीवन बिताउनु भयो, तर पार्टीलाई संकट परेको बेलामा झन् अप्ठेरोमा पार्ने काम किन गर्नु भएको त ?

पार्टी पनि को पार्टी हो भन्ने हामी कम्युनिष्टको समस्या छ । तर पनि म एमाले भित्रै छु ।

एमालेलाई एक बनाउन पाए राम्रो हुन्थ्यो भनेर लागेको छु । एमालेको एकिकरण कम्युनिष्ट आन्दोलनको एकिकरण र वाममोर्चाको एकिकरण भएको हेर्न मन छ ।

यिनै कुराहरुको सेरो फेरोमा मेरा गतिविधि केन्द्रित हुन्छन् । एमाले एकिकरणमा नै मेरो विशेष ध्यान रहन्छ ।

हिजो माधव झलनाथहरुको कारबाही छुट गराउने भन्ने बारेमा बालुवाटारमा छलफल भयो भन्ने सुनेँ । खुसी लागेको छ । त्यो राम्रो कुरा हो । महत्वपूर्ण कुरा चाहीँ एमालेको सशक्त सांगठनिक एकिकरण, त्यस पछाडि एक वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण र लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनलाई यथावत राख्नु पर्छ ।

वास्तवमा संविधानको संरक्षण हुनुपर्छ । समय सापेक्ष रुपमा संविधान संशोधन होला त्यो आफ्नो ठाउँमा छ । विधि विधान अनुसार सबै जना चल्नु पर्छ ।

हाम्रो राजनीतिक खेलको मैदान कस्तो भयो भने त्यहाँ विधि पनि छैन, प्रक्रिया पनि छैन, अनुशासन पनि छैन, व्यक्ति विशेषले जे सोच्यो त्यही अनुसार हुने अवस्था आयो । कहिले काहीँ त के हुँदैछ भन्ने कुरा स्वयम् त्यही काम गर्नेलाई नै थाहा नहुने अवस्था छ ।

सबै नेता एक्सन र रिएक्सनमा मात्र जान लागे । हामी एक्टिभ र प्रोएक्टिभ हुन सकेनौँ, रियक्टिभ मात्र भयौँ । ‘भागो नहीँ, दुनियाँको बदलो’ भन्छन्, त्यसैले यही भित्र रहन्छु, तर केही समय आराम गरौँ भन्ने मेरो सोच हो ।

यस्तो बेलामा प्रदेश सभा सदस्यबाट राजीनामा दिनु ठीक थियो त ?

शंकर पोखरेललाई मैले दाङको राजनीतिक सम्पदाको रुपमा लिन्छु । तर उहाँले प्रधानमन्त्रीका कतिपय गतिविधिमा आलोचना गर्न सक्नु भएन ।

म ठूलो महत्वकांक्षा राख्ने मान्छे पनि होइन । मैले उहाँलाई अलि अगाडि म आर्थिक रुपले पनि कमजोर भएकोले संसदीय समितिको सभापति बनाइदिनु पर्यो भनेको थिएँ । म कुनै पनि कुरा दुईपटक भन्दाबढी भन्दा पनि भन्दिन । उहाँले कुनै चासो देखाउनु भएन ।

अहिले आएर मन्त्री भैदिनु पर्यो भन्नुहुन्छ । अब के भन्ने ? अहिले हुने नहुने सबै खालका मान्छे मन्त्री भएका छन् । मन्त्री भएर पनि के हुन्छ र भन्ने लाग्यो । त्यसैले सांसद् पदबाटै राजीनामा दिएपछि सबैको कचकच नै साफ भन्ने लाग्यो र राजीनामा गरेँ ।

समग्र देशको राजनीति नै अँध्यारोमा हिँडिराखेको छ । त्यसकारण हेरौँ अब अलिकति, हरेक बादलमा चाँदीको घेरा हुन्छ भन्छन् । त्यस कारण यो घेरा देखिन लाग्यो र पार्टीले महशुस गर्यो भने अलिकति वौद्धिक किसिमले सहयोग गर्ने काम गर्छु । अब म लेख्ने पढ्ने तिर बढी लाग्छु ।

भनेपछि अब एमालेकै वौद्धिक काममा लाग्नुहुन्छ ?

अब त्यसमा लाग्छु । भोलि कम्युनिष्ट एक हुँदा सबै खाले पार्टी त्यहाँ हुन्छन् । त्यो बेलामा सबै एकठाउँमा हुन सकिन्छ । त्यसकारण कसैलाई घृणा गर्ने कुरा पनि जाती हुँदैन । कसैलाई गाली गर्ने, यसो उसो गर्ने आवश्यकता पनि छैन ।

कम्युनिष्ट आन्दोलन भित्र अलिकति कुरो मिलेन भने पुरै घचेटेर डिलबाट खसाल्ने प्रचलन छ । त्यो कल्चरको म विरोधी हो । किन भने भोलि सबै जना चाहिन्छ । सबैसँग म समन्वय गरेरै अघि बढ्छु । जिम्मेवारी लिनेले सबैलाई हेर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);