कर्जा विस्तार हुँदा बर्बाद भयो भन्ने सोचले अर्थतन्त्र सुस्तायोः पूर्वगभर्नर नेपाल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

कर्जा विस्तार हुँदा बर्बाद भयो भन्ने सोचले अर्थतन्त्र सुस्तायोः पूर्वगभर्नर नेपाल

पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारलाई रोक्ने नीति लिँदा अपेक्षित आर्थिक वृद्धि हुन नसकेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले कर्जा विस्तार नभएसम्म आर्थिक वृद्धि नहुने बताउनुभएको हो । उहाँले राष्ट्र बैकलाई स्वायत्त हुन नदिँदा बैकले सरकारको दबाबमा कयौँ गलत निर्णय गर्न बाध्य भएको आरोप लगाउनु भयो । विगतमा कर्जा विस्तार भइरहेको समयमा सरकारले नै कर्जा विस्तारमा कडाई गर्न दबाब दिएको कारण हाल मुलुक आर्थिक समस्यमा फसेको उहाँको भनाई छ । विगतमा १८ देखि २० प्रतिशतसम्म कर्जा विस्तार हुँदा ६ देखि ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएको स्मरण गराउँदै उहाँले १२ प्रतिशतको लक्ष्य राख्दा पनि कर्जा विस्तार हुन नसकेको बताउनु भयो । उहाँले कर्जा विस्तार नहुँदा पनि ४ प्रतिशतको हाराहारीमा भने आर्थिक वृद्धि हुने उल्लेख गर्नुभयो । नेपालमा करिव ४० प्रतिशतभन्दा बढी अर्थतन्त्र अनौपचारिक क्षेत्र रहेकोले गर्दा मात्रै हाल अर्थतन्त्र चलायमान देखिएको बताउनुभयो । उहाँकाअनुसार अनौपचारिक क्षेत्रमा ठूलो मात्रामा आर्थिक गतिविधि भइरहेकाले कर्जा विस्तार सिमित हुँदा पनि अर्थतन्त्र पूर्ण रूपमा ठप्प नदेखिएको हो । उहाँले कर्जा विस्तार बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै कर्जा विस्तारमा जोड दिनुभयो । कर्जा विस्तारलाई नै आर्थिक समस्याको मुख्य कारणका रूपमा प्रश्तुत गरिनु गलत भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘अहिले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राख्दा ५÷६ प्रतिशतपनि हुन सकेको छैन । यो ६ प्रतिशत कर्जा विस्तार नभए पनि आर्थिक वृद्धि ४ प्रतिशत हुन्छ, यो ग्यारेन्टी छ । किन अनौपचारिक क्षेत्र छ, काम त भइरहेको छ । तर कर्जा विस्तार नभई कहीँ आर्थिक वृद्धि हुन्छ ? तर हाम्रो देशमा कर्जा विस्तार भएर बर्बाद भयो भन्ने चलन छ । कर्जा विस्तारले ७ प्रतिशत आर्थिक वृद्धि भएको थियो । केन्द्रिय बैंकलाई यस्तो दबाब भयो कि कर्जा विस्तार नै रोक्नुपर्ने स्थिति आयो । त्यो रोकेको अहिलेसम्म रोकेको रोक्यै भए, कहीँ मुलुकमा ४–५ वर्षसम्म कर्जा विस्तार यसरी रोकिरहन्छ ? जबकि लैजा पैसा भन्दा पनि लैजाने स्थिति भएन । हामी यस्तो अप्ठ्यारो स्थितिमा भयौँ । कुनैपनि हालतमा विस्तार हुनुपर्छ । कर्जा विस्तारले आर्थिक क्रियाकलाप बढाउने हो ।’
उहाँले अनावश्यक रूपमा कर्जा विस्तार रोक्दा उत्पादन, लगानी र रोजगारीमा प्रत्यक्ष असर परेको बताउनु भयो । उहाँले केन्द्रीय बैंकलाई स्वायत्त भएर नीति निर्माण गर्न दिनुपर्नेमा जोड दिनुभयो । केन्द्रिय बैंकसँग आवश्यक परे निर्देशनमार्फत कुनै पनि क्षेत्रमा जाने कर्जा नियन्त्रण गर्ने पर्याप्त क्षमता रहेको उहाँको भनाई छ ।

Leave a Reply