गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

tamu lhosar

काठमाडौं, १५ पुस । प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुँगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । यसवर्ष तमु ल्होसारका अवसरमा राजधानीको टुँडिखेलमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोक दोहोरी गीत प्रतियोगिता आयोजना गरेकाे छ ।

आज अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ। यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।