काठमाडौं, २६ मंसिर । नेपालका भूकम्पबाट क्षति भएका ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।
भारतीय राजदुतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज इन्टाच सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय दुतावासका नियोग उपप्रमुख डाक्टर अजय कुमार तथा इन्टाचका सदस्य सचिव डाक्टर सी टी मिश्राले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध हुने छ ।
नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने छ ।





