गौरिकाको अर्को कीर्तिमान, एउटै सागमा चार स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

गौरिकाको अर्को कीर्तिमान, एउटै सागमा चार स्वर्ण

gaurika singh 4 gold

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको पौडीमा गौरिका सिंहले सोमबार चौथो स्वर्ण पदक जितेकी छिन् ।

यसअघि तीन स्वर्ण पदक हात पारेकी गौरिकाले सोमबार १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । सागको ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने गौरिका पहिलो नेपाली खेलाडी भएकी छन् ।

उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरेर स्वर्ण जितेकी हुन् । १३औँ सागमा गौरिकाले ४ स्वर्ण सहित २ वटा रजत र २ वटा कांस्य समेत जितेकी छन्।

सोमबार नै साग अन्तर्गत बक्सिङमा महिलातर्फ नेपालकी मिनु गुरुङले ऐतिहासिक स्वर्ण जितेकी छिन् । ५४ केजी तौल समुहमा निमु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

यसैगरी पुरुष ६४ केजी तौल समूहमा भूपेन्द्र थापाले स्वर्ण जितेका छन् । थापाले फाइनलमा भारतीय खेलाडी अंकको आधारमा पराजित गरेर स्वर्ण पदक जितेका हुन्।

यसैगरी जुडोमा महिलातर्फ नेपालले स्वर्ण जितेको छ । महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन् । पुनमले बंगलादेशकी खेलाडीलाई हराउँदै स्वर्ण हात पारेकी हुन् ।

योसँगै नेपालको स्वर्ण पदक संख्या ४९ पुगेको छ । यसैगरी सागको थ्री अन थ्री बास्केटबलमा पुरुषतर्फ नेपालले रजत पदक प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २०–१५ ले पराजित भएको हो ।

बास्केटबलमा नेपालले थ्री अन थ्रीमा पदक जितेको पहिलो पटक हो । थ्री अन थ्री बास्केटबलको महिलातर्फ भने नेपालले कास्य पदक जितेको छ । जारी साग खेलकुदको पछिल्लो पदक तालिका अनुसार भारतले १ सय ३८ स्वर्ण, ८३ रजत र ४३ कास्य सहित कुल २ सय ६४ पदक जितेर अग्र स्थानमा रहेको छ ।

नेपाल ४९ स्वर्ण, ४८ रजत र ७८ कास्य सहित १ सय ७५ पदक जितेर दोस्रो स्थानमा छ । श्रीलंकाले ३६ स्वर्ण, ७४ रजत र १ सय ६ कास्य पदक हात पारेको छ । पाकिस्तानले ३०, बंगलादेशले १८ र माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले ५ वटा रजत र १३ वटा कास्य पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);