साग खेलकुद : १३ स्वर्ण पदक जितेर नेपाल तालिकाको अग्रस्थानमा | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

साग खेलकुद : १३ स्वर्ण पदक जितेर नेपाल तालिकाको अग्रस्थानमा

nepal agadi-SAG

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म १३ स्वर्ण पदक जितेर पदक तालिकाको अग्रस्थानमा रहेको छ । नेपालले सोमबार अहिलेसम्म कराँतेमा ७, तेक्वान्दोमा ५ र महिला ट्रायथोलनमा १ गरी १३ स्वर्ण पदक जितेको हो ।

नेपालका मण्डेकाजी श्रेष्ठले सोमबार एकल काता र पुरुष टिम कातामा स्वर्ण हात पारेका छन् । यसकासाथै मण्डे एउटै सागमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो ।

नेपालले करातेको महिला टिम काता, र पुरुष टिम कातामा स्वर्ण पदक जितेको छ । कराँते फाइटको पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । ४५ केजी महिला कुमुतेमा नेपालकी कुशुम खड्काले बंगलादेशकी मोन्जेरा बोर्नालाई पराजित गर्दै स्वर्ण पदक जितेकी छिन् ।

कराँतेको कुमुतेतर्फ ८४ केजी तौल समुहमा विप्लवलाल श्रेष्ठले पाकिस्तानी खेलाडी मोहम्मद बाजलार्ई हराउदै स्वर्ण जिते । कराँतेको ८४ केजी मुनीको कुमुतेमा नेपालका दीवस श्रेष्ठ फाइनलमा अयोग्य घोषित भएपछि रजत पदकमै चित्त बुझाउनुपरेको छ । खेल सकिन मात्र ६ सेकेण्ड बाँकी हुँदा रेफ्रीले प्राविधिक कारण देखाउँदै उनलाई अयोग्य घोषित गरेका थिए । यससँगै पाकिस्तानका अवेस मोहम्मदले स्वर्ण जितेका छन् ।

यसैगरी तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले, महिला एकलतर्फ सिना लिम्बू माडेनले तथा २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ पार्वती गुरुङले तथा २९ बर्षभन्दामाथिको उमेर समुहमा आशया शाक्यले स्वर्ण पदक जितेका छन् ।

तेक्वान्दोकै पोम्सेतर्फ युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समुहमा नेपालकी आयशा शाक्य र सन्जिवकुमार ओझाको जोडीले स्वर्ण जितेका छन् त्यसैगरी ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक पदक जितेको छ । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् ।