काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद साग अन्तगर्त आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । आजदेखि भलिबल खेल सम्पन्न हुनेछ । पुरुष तर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने महिला तर्फ नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।
आजदेखि एथलेटिक्सका खेलहरु पनि संचालन हुनेछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन् । यस्तै करातेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ । टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेलहरु सम्पन्न हुनेछन् । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ । फुटबलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । आजदेखि पुरुष क्रिकेट सुरु हुँदैछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । आजबाट नै सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा हुँदैछन् भने लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेलहरु संचालन हुनेछन् । यस्तै गल्फ पनि आजबाट सुरु हुनेछ । कीर्तिपुरमा जारी खोखोमा आज सेमिफाइनलका खेलहरु संचालन हुनेछन् ।




