काठमाडौं, २५ कात्तिक । विश्वकप फुटबल छनोट अन्तर्गत, दशरथ रंगशालामा हुन नसकेको खेल भुटानमा गर्न एन्फाले गरेको प्रस्ताव एएफसीबाट स्वीकृत ।
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको हो । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गते हुनेछ । विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने पहिलो खेल दशरथ रंगशाला हुने तय भएको थियो ।
तर, फिफा र एसियाली फुटबल परिषद एएफसीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम दशरथ रंगशाला तयार हुन नसक्ने ठहर गरेको थियो । सो खेल नेपालमा सञ्चालन हुन नसक्ने भएपछि एन्फाले एएफसीलाई तटस्थ मैदानको रुपमा भुटानको चाङ्लिमिथाङ रंगशाला सिफारिस गरेको थियो ।
नेपालको सिफारिसमा एएफसीले स्वीकृति दिएको एन्फाले जनाएको छ । विश्वकप छनोट अन्तर्गत विदेशी मैदानमा खेल्ने सबै खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।