काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गर्नुभयो । पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उहाँले राष्ट्रिय समस्या, राजनीतिक संकट र कम्युनिष्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताउनुभयो ।
नेपालको राजनीतिमा कम्युनिष्टहरूले २००७ सालदेखि नै महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उहाँले कम्युनिष्टहरू नै सच्चा देशभक्त भएको दाबी गर्नुभयो । समाजमा व्याप्त महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीका विरुद्ध जुध्न उनले महिला संगठनलाई निर्देशन दिनुभयो ।
महिलाहरूले आफ्नो जिल्ला र राष्ट्रिय समस्या दुवैमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नेता नेपालले एकताले मात्रै सबै थोक नहुने भन्दै शक्ति बढाउन र जनताको मन जित्न आफ्नै खुट्टामा उभिने आँट गर्नुपर्ने बताउनुभयो ।





