काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा संवोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुद हुन नसक्ने बताउनुभएको हो।
सांसद झाले प्राइभेट क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेण्ट इकोनोमीले स्थायित्वमा मद्दत पुर्याउने बताउनुभयो । सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताउनुभयो । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । छिमेकी देशहरुमा प्राइभेट क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा रास्वपाका सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिइएको बताउनुभयो । उहाँका अनुसार रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन । महत्वका साथ उद्यमशीलताले स्थान पाएको उहाँको भनाइ छ । वैदिकले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको आर्थिक उन्नति हाँसिल गर्न गाउँगाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले ठूलो भुमिका खेल्ने बताउनुभयो ।
रास्वपाले सय दिने कार्यसूचीमा व्यवसाय दर्ता तथा नवीकरणमा सहजीकरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै सांसद बौदिकले उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले अब तिरस्कार नगर्ने प्रष्ट पार्नुभयो । उहाँ सरकारले गरिरहेका कामहरुको परिणाम आगामी साताबाटै देखिने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।





