कालानमक धान लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

कालानमक धान लोप हुने अवस्थामा

कपिलबस्तु, २३ कात्तिक । मिठो बासना र स्वादिलो चामलका रूपमा लिइने कालानमक अर्थात बुद्धकालिन धान लोप हुने अवस्थामा पुगेको छ । अन्य प्रजातिका धानको तुलनामा औषधी, मलखाद पनि बढी लाग्ने र उत्पादन पनि थोरै हुने भएकाले कालानमक धानको खेती गर्न छोडिएको कृषकहरुको भनाई छ ।

नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानमक धानको खेती लोप हुन थालेपछि कपिलबस्तुमा धानको उत्पादनमा कमी आएको छ । कपिलवस्तुमा कुल ८३ हजार हेक्टर खेती योग्य जमीन मध्ये ७२ हजार हेक्टरमा धान खेती भईरहेको छ ।

जसमा पछिल्ला बर्षहरूमा मात्रै ४ सय २५ हेक्टरमा कालानामक धान लगाइने गरिएको थियो तर यो परिमाण अझै न्युन भइसकेको छ । कालानमक धान जिल्लाकै शान रुपमा चिनिए पनि अरु प्रजातिको धानको तुलनामा निकै कम चामल उत्पादन हुने र यसको स्याहारका लागि धेरै औषधी तथा मलखादको आवश्यकता पर्ने भएकाले यसको खेतीमा कमी आएको हो ।

तर पनि यसको जगेर्नाका लागि आवश्यक प्रचारप्रसार गर्न र किसानलाई यो धानखेति प्रति आकर्षित गर्न आवश्यक रहेको कपिलवस्तु नगरपालिका–२ का वडा अध्यक्ष रामभजन कलवारले बताउनु भयो ।

कालानमक धानको चामल अत्यन्तै सुगन्धित, मसिनो र स्वादिलो हुने हुँदा बजारमा माग बढेको छ तर उत्पादनको कमीले माग भने पुर्ति गर्न सकिने अवस्था छैन । थोरै उत्पादन हुने भएकाले कृषकहरूको लगानी अनुसार आम्दानी नहुने भएपछि यसको खेती गर्नेहरू घटेका छन् ।

यसको बिउ भारतमा २ सय ५० प्रति किलो पर्छ । यसको उब्जनी कच्चा एक बिगाहामा डेढ कुइन्टल चावल हुने गर्छ । बजारमा यसको मूल्य प्रति किलो नयाँ चावल १ सय २० रुपैयाँ र पुरानो चावल १ सय ५० रूपैंया बिक्री हुने गर्दछ ।

हाल कपिलवस्तु झण्डै १० देखि २० विघामा मात्र कालानमक धानको खेती गरिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सिंचाईको ब्यवस्था भएको खेतमा मात्र लाउन सकिने, धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले कृषकहरूले यो धान लाउन छाडेका छन् ।

स्थानिय प्रजातिको यस धानको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले समेत कुनै पहल नगरेको कृषकहरूको गुनासो छ । अन्य प्रजातिका धानसँगको संसर्ग गरी बढी उत्पादन गराउने प्रकारको प्रजाति बनाएर यसको जर्गेना गर्नुपर्ने कृषि विज्ञहरुको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);