देशभर ८१ प्रतिशत धान रोपाइँ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभर ८१ प्रतिशत धान रोपाइँ सम्पन्न

मनिशा भण्डारी
काठमाडौं, ५ साउन । असार सकिएसँगै देशभर ८१ प्रतिशत भन्दा बढी धान रोपाइँ भइसकेको सरकारी तथ्याङ्क छ । गत वर्ष यही अवधिमा ४० प्रतिशत मात्र रोपाइँ भएको थियो ।

विगतका वर्षका तुलनामा यो वर्ष धान रोपाइँमा वृद्धि भएको छ । असार सकिएसँगै ८१ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको हो ।सरकारी तथ्याङ्क अनुसार नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुँदै आएको छ । साउन सुरु भएसँगै धानको सुपर जोन रहेको प्रदेश १ मा ६९ दशमलव ९१ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष यही अवधिमा प्रदेश नम्बर–१ मा ७ प्रतिशत रोपाइँ मात्र भएको थियो । सबैभन्दा बढी धान उत्पादन हुने प्रदेश नम्बर–२ मा हालसम्म ८३ दशमलव ४१ प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्ष यो अवधिमा प्रदेश नम्बर–२ मा ३० प्रतिशत मात्र रोपाइँ सकिएको थियो । त्यस्तै, बागमती प्रदेशमा ७२ दशमलव १० प्रतिशत रोपाइँ भएको छ । गत वर्ष बागमती प्रदेशमा ३१ दशमलव ०६ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा ८३ दशमलव ६९ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष गण्डकी प्रदेशमा ७१ प्रतिशत मात्र रोपाइँ भएको थियो । प्रदेश नम्बर–५ मा ८६ दशमलव ६० प्रतिशत रोपाइँ भएको छ । गत वर्ष प्रदेश ५ मा ९५ प्रतिशत रोपाइ भएको थियो ।

कर्णाली प्रदेशमा ८६ दशमलव ८४ प्रतिशत रोपाइँ भइसकेको छ । गत वर्ष ७० प्रतिशत मात्र रोपाइ भएको थियो । यसैगरी, सातवटै प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९१ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष सुदूरपश्चिम प्रदेशमा ५५ दशमलव ८४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष मनसुनले साथ दिएपछि गत वर्षको तुलनामा यस वर्ष धेरै धान रोपाइँ भएको हो ।

कृषक मनोजकुमार राईले मनसुन समयमै भएकोले धान खेती सहज ढङ्गले भएको बताउनुभयो। ‘सलहको प्रकोप नभए धानको उत्पादन निक्कै राम्रो हुने आशा गरिएको छ।’ कृषक राईले भन्नुभयो।

समयमै धान रोपाइँ सकिएकै कारण यसपटक धान खेतीको क्षेत्रफल बढ्ने अनुमान पनि गरिएको छ । समयमै धान रोपाइँ सम्पन्न भएपछि उत्पादनमा पनि वृद्धि हुने किसानको अपेक्षा छ ।

आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५१ हजार मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरेकोमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भयो ।यसवर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । मनसुन र जनशक्तिको कारण रोपाइँमा सहयोग पुग्ने कृषि विभागका महानिर्देशक बंशी शर्माले बताउनुभयो।

मुख्य खाध बाली धानको यस वर्ष उत्पादकत्त्व बढ्ने प्रक्षेपण गरिएको छ । मनसुन र जनशक्तिले उत्पादकत्त्व बढ्ने प्रक्षेपण गरिएपनि अति वृष्टिका कारण हजारौैं बिगाह धानबाली डुबानमा पर्दै गए सरकारी प्रक्षेपणमा झट्का लाग्ने निश्चित छ । बाढीबाट धान जोगाउन सकिएमा यस वर्ष धानले लक्ष्य हासिल गर्न सक्ने सम्भावना छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);