देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

काठमाडौं ।

देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कृषि विभागले सार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरणअनुसार गत वर्ष सोही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भइसकेको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब साढे १३ प्रतिशतले रोपाइँ कम भएको विभागको तथ्यांकले देखाएको छ ।
कृषि विभागकाअनुसार नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमध्ये असार २६ गतेसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी, कोशीमा सबैभन्दा कम रोपाइँ
प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी रोपाइँ गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ ।
गण्डकी प्रदेशमा ६५.९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । त्यहाँ कुल ९३ हजार ६०६ हेक्टरमध्ये ६१ हजार ७२७ हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत (१ लाख ७९ हजार ६३१ हेक्टर) र सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत (८९ हजार ७४२ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ । सुदूरपश्चिमको तथ्याङ्क असार १९ गतेसम्मको मात्रै समावेश गरिएको विभागले जनाएको छ ।
यसैगरी, वागमती प्रदेशमा ५७.१ प्रतिशत (६५ हजार ४४६ हेक्टर) रोपाइँ सकिएको छ भने कर्णाली प्रदेशमा ४०.५ प्रतिशत (१७ हजार ५४९ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ ।
धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाइँको गति निकै ढिलो देखिएको छ । मधेस प्रदेशमा कुल ३ लाख ८५ हजार १३३ हेक्टर धान खेती हुने जमिनमध्ये ३२.८ प्रतिशत अर्थात १ लाख २६ हजार ४३९ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
यस्तै, कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर खेतीयोग्य जमिनमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ ।
गत वर्षको तुलनामा सबै प्रदेशमा गिरावट
कृषि विभागको तथ्यांअनुसार गत वर्षको तुलनामा यस वर्ष सबैजसो प्रदेशमा रोपाइँको प्रतिशत घटेको छ । गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ९३.१० प्रतिशत रोपाइँ भइसकेकोमा यस वर्ष ५७.९ प्रतिशत मात्र भएको छ ।
त्यस्तै, कर्णालीमा गत वर्ष ८३.२३ प्रतिशत रोपाइँ भएकोमा यसपालि ४०.५ प्रतिशत मात्रै सकिएको छ । वागमतीमा पनि गत वर्ष ७६.३१ प्रतिशत रोपाइँ भएकोमा यसपालि ५७.१ प्रतिशत मात्रै भएको विभागको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply