रोपाइँ सकियो, ‘हर्दहवा’को तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रोपाइँ सकियो, ‘हर्दहवा’को तयारी

ropai

काठमाडौं, ३१ असार । कैलालीको दक्षिणी क्षेत्रमा यस वर्षको रोपाइँ सकिएको छ । केही दिनयता पर्याप्त वर्षा भएपछि दक्षिणी क्षेत्रका किसानले धमाधम रोपाइँ सकेका हुन् ।

रोपाइँ गर्न बाँकी रहेका किसानले पनि रोपाइँ सक्ने तर्खरमा रहेका छन् । आकाशे पानी परेपछि हप्ता दिनभित्रै रोपाइँ सकेको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका कृषक फिरङ्गी रानाले बताउनुभयो । यस वर्ष ढिलो वर्षा हुँदा रोपाइँ ढिलो सुरु भयो । उहाँले भन्नुभयो, तर पछिल्लो समय वर्षा नियमित रूपमा हुन थालेपछि एक हप्ताभित्रै रोपाइँ सकियो ।

नियमित र मौसमी सिँचाइ हुने दक्षिणी क्षेत्रको किसानले असार पहिलो सातादेखि रोपाइँ सुरु गरेका थिए तर मध्य असारसम्म सुक्खा बढेपछि यस वर्ष कतिपय किसानले बीचमा रोपाइँको काम रोकेका थिए । आकाशे पानी पाएपछि धमाधम रोपाइँ सकाएको अर्का कृषक बिपराम चौधरीले बताउनुभयो । अब केही किसान मात्रै खेतमा छन, उहाँले अगाडि थप्नुभयो, अधिकांशको यस वर्षको रोपाइँ सकिएको छ । रोपाइँ सकेका किसानले ‘हर्दहवा’ खाने तयारी गरिरहेको चौधरीले जानकारी दिनुभयो । थारू समुदायले रोपाइँ सकेका बेला रमाइलो गर्दै खानपान गर्ने चलन छ । जसलाई स्थानीय भाषामा हर्दहवा भनिन्छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कैलालीमा ७१ हजार ७१५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । विगतको तुलनामा ७८५ हेक्टर धान खेतीयोग्य जमिन घटेको छ । केही वर्ष अगाडिसम्म कैलालीमा ७२ हजार ५०० हेक्टर जमिनमा धान खेती हुने गरेको सरकारी तथ्याङ्क रहेको थियो ।

हाल धान खेतीयोग्य जमिनमध्ये ४२ प्रतिशतमा नियमित र करिब २८ प्रतिशत जमिनमा मौसमी सिँचाइ सुविधा रहेको छ । कैलालीमा पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतर्फ यस वर्षको रोपाइँ सकिए पनि उत्तरी क्षेत्रमा जारी रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी महेशचन्द जोशीले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको जनाउनुभयो ।

कैलालीमै रहेको चुरे र मोहन्याल गाउँपालिकाका पहाडी क्षेत्रमा पर्दछ । दुवै गाउँपालिकासहित राजमार्गको उत्तरतर्फ अझै रोपाइँ गर्न बाँकी रहेको जोशीले बताउनुभयो । पहाडी क्षेत्रमा अझै रोपाइँ जारी रहेकाले कैलालीमा अझै ३० प्रतिशत रोपाइँ बाँकी रहेको देखिन्छ, उहाँले भन्नुभयो ।
पहाडी दुई गाउँपालिकामा सिँचाइको सुविधा छैन । त्यहाँका किसानले आकाशे पानीको भरमा रोपाइँ गर्ने गरेका छन् । चुरे गाउँपालिकामा अहिलेसम्म ५० प्रतिशत रोपाइँ सकिएको सो गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले बताउनुभयो ।

यहाँ अहिलेसम्म रोपाइँ सकिएको छैन, उहाँले भन्नुभयो, ढिलो गरी पानी परेपछि किसानले धमाधम रोपाइँ गरिरहेका छन् । पहाडी क्षेत्र भए पनि चुरे र मोहन्याल गाउँपालिकाको मुख्य खेती धान खेती नै हो । पहाडी क्षेत्रमा करिब ३५÷४० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।
यसैगरी धान खेती बढी हुने कञ्चनपुरमा अहिलेसम्म करिब ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । पहाडी क्षेत्र नपर्ने उक्त जिल्लामा दक्षिणी क्षेत्रमा रोपाइँ सम्पन्न भएको र चुरे फेदीमा केही रोपाइँ बाँकी रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);