बाँके बर्दियामा पनि चैते धान फलाउन सफल भएपछि कृषक उत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँके बर्दियामा पनि चैते धान फलाउन सफल भएपछि कृषक उत्साहित

बाँके । बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिन्ने गरेका छन् । बर्दियाका किसानहरु १ दशक अघिदेखि चैते धान तर्फ अकार्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यो वर्ष भने बाँकेका किसानहरुले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए ।

नहरमा १२ महिना पानी आउन थाले पछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परीक्षण सफल भएकाले अर्को बर्षदेखि थप जमिनमा चैते धान रोप्ने सोच बनाएको बताए । यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कठ्ठा जमिनमा चैते धान फलाउन सफल भएका छन् ।

उनले असार पहिलो सातासम्म चैते धान थन्काएर बर्षे धान लगाउने तयारी गरेको बताए । परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैते धान– ५ नामक धानको खेती गरेका हुन् । लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गरेको बताए । एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिँउदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताए ।

घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालको भनाई छ । उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताए । कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो बर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो ।

धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क परामर्श र मल बीउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले जानकारी दिए । अर्को बर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याउने उनले बताए । किसानहरुले गर्मी हुने ठाँउमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ ।

सिक्टा सिंचाई आयोजनाको सिंचित हुने क्षेत्रमा धान उत्पादन गरेर किसानहरुलाई बैकल्पिक उत्पादनको बाटो देखाएको छ । आगामी बर्षमा ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरुलाई निशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरुलाई थप हौशला पुग्ने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);