झापाका स्थानीय तहले फोहोरमैला व्यवस्थापन गर्नै सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झापाका स्थानीय तहले फोहोरमैला व्यवस्थापन गर्नै सकेनन्

सुरेन्द्र भण्डारी
विर्तामोड, ४ कात्तिक । झापाका कुनै पनि स्थानीय तहले फोहोरमैला व्यवस्थापन ऐन कार्यान्वयन गरेका छैनन् । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोरमैला व्यवस्थापन नियमावली २०७० जारी गरेपनि कार्यान्वय नहुँदा झापाका स्थानीय तहले बाटोमा, सामुदायिक वन तथा खोला खोल्सा किनारमा लगेर फोहोर फ्याल्ने गरेको पाइएको छ ।

झापाको मेची नगरपालिकाले निन्दा खोलाको किनारमा वर्षौंदेखि फोहोर फाल्दै आएको छ । यसैगरी झापाकै बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले संयुक्त रुपमा डम्पिङ साइड निर्माण गर्न जग्गा नभेटेको भन्दै बाटो किनारमा, खोला तथा सामुदायिक वनमा फोहोर फाल्ने गरेका छन् ।

दमक नगरपालिकाले पनि स्थानीय हम्से दम्से सामुदायिक वनको रतुवाखोला किनारमा फोहोर फाल्ने गरेको छ । २०७० साल असार १० गते फोहोरमैला व्यवस्थापन नियमावली २०७० नेपाल राजपत्रमा प्रकाशित गर्दै नियमावली जारी भएको थियो ।

नियमावली अनुसार सवै स्थानीय तहले फोहोरमैला व्यवस्थापन गर्नु पर्ने हुन्छ । तर बिर्तामोड नगरपालिकाले अहिले नगरको पूर्व पश्चिम राजमार्गको गिरी वन्धू टि स्टेड अगाडि फोहोर पुर्ने गरेको छ ।

जसका कारण दुर्गन्ध फैलिएर हिडिनसक्नु भएको छ । सडकमा फोहोर पुर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेको स्थानीय गायत्री प्रसाद शिवाकोटीले गुनासो गर्नुभयो ।

नियमावलीको उपनियम ३ मा फोहोरमैला पृथकीकरण तथा व्यवस्थापनको व्यवस्था छ । सोही व्यवस्था अनुसार उपनियम ३ को उपदफा १ मा स्थानीय निकायले ऐनको दफा ६ मा जैविक र अजैविक लगायतका फोहोरमैलालाई स्रोतमै छुट्याएर व्यवस्थापन गर्नु पर्ने भनिएको छ ।

तर बिर्तामोड नगरपालिकाले समयमा उठाउँदैन, उठाइहालेपनि बाटोमै पुर्ने गरेको छ । नगरको फोहोर समयमा नउठाउँदा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय गर्न पनि समस्या भएको व्यवसायी ओमप्रकाश लुईटेल बताउनुहुन्छ ।

फोहोरमैला ब्यवस्थापन ऐनको उपनियम ४ मा फोहोरमैलाको निष्कासन सम्बन्धी व्यवस्था गरेको छ । जसमा स्थानीय निकायले फोहोरमैला निष्कासनको समय, स्थान र तरिका निर्धारण गर्दा फोहोरमैला ढुवानी, प्रशोधन र अन्तिम विसर्जनका लागि सजिलो हुने गरी निर्धारण गर्नुपर्ने भनिएको छ ।

त्यस्तै उपनियम १ र २ बमोजिम स्थानीय निकायले फोहोरमैला निष्कासन तथा व्यवस्थापनका लागि समय, स्थान र तरिका निर्धारण गर्दा जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रभाव र त्यसको न्यूनीकरणका उपायलाई समेत ध्यान दिनुपर्नेछ भनिएको छ ।

बिर्तामोडमा अधिकांश संघ संस्थाले सरसफाई गरेपनि त्यसलाई पूर्ण रुपमा नगर सफा राख्न नगरपालीकाले भने कुनै चासो देखाएको छैन । यहाँका केही संघ संस्थाले बिर्तामोड सरसफाई अभियान, अन्धुवा खोला सरसफाई अभियान सञ्चालन गरेपनि नगरपलिकाको असहयोगकै कारण अभियानले सार्थकता पाउन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);