राजनीति

निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

काठमाडौँ ।

पूर्वमुख्यसचिव विमल कोईरालाले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने सशक्त र स्वतन्त्र नागरिक समाज आवश्यक रहेको बताउनुभएको छ ।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले लोकतन्त्रमा राज्यका तीन अंगसँगै प्रेस र नागरिक समाजको महत्वपूर्ण भुमिका रहने बताउनुभएको हो । उहाँले नागरिक समाज सरकारको निरन्तर निगरानी गर्ने र नागरिकका आवाज राज्यसम्म पु¥याउने संस्थाका रूपमा स्थापित हुनुपर्ने बताउनु भयो । नेपालमा नागरिक समाज कुनै समय राजनीतिक दललाई समेत खबरदारी र निर्देशन गर्नसक्ने हैसियतमा रहे पनि पछिल्लो समय राजनीतिक स्वार्थ, पद र नियुक्तिको अपेक्षाका कारण कमजोर हुँदै गएको उहाँको भनाइ थियो । कोईरालाले नागरिक समाजमा आवद्ध व्यक्तिहरूले संस्थालाई राजनीतिक पद वा नियुक्ति प्राप्त गर्ने माध्यम बनाउने प्रवृत्तिका कारण नागरिक समाजले उठाउनुपर्ने वास्तविक मुद्दा ओझेलमा परेको बताउनु भयो । उहाँले नागरिक अभियानमा संलग्न संस्थाले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दा आफू पनि पारदर्शी र जवाफदेही हुनुपर्ने बताउनु भयो । नागरिक अभियान ठूलो त्यागको संस्था भएको भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । निर्वाचनबाट प्राप्त जनमतले सरकारलाई वैधानिकता दिए पनि जनताको विश्वास र समर्थन निरन्तर कायम राख्न सरकार जनउत्तरदायी हुनुपर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चौथो अंग भनेर हामीले प्रेसलाई मान्छौँ । लोकतन्त्रको सफलता त्यहाँको प्रेसको स्वतन्त्रतालाई मापन गरेर पनि हेर्न सकिन्छ । त्यस पछिको पाँचौँ शक्ति भनेको नागरिक शक्ति हो, नागरिक अभियान हो । डेमोक्रेसी भनेको बहुमतको अधिनायकवाद होइन । यसमा अल्पमतको पनि त्यत्तिकै स्थान हुन्छ । सानो स्वर पनि त्यहाँ समेटिनुपर्छ ।’
सरकार निष्पक्ष र तटस्थ भएर नागरिकलाई सेवा दिनुपर्ने तथा सेवा, सुविधा र राजकाजमा राजनीतिकरण गर्न नहुने उहाँले बताउनु भयो । नागरिकका आवाज नसुन्ने वा सानो स्वरलाई अपमान गर्ने अवस्था आएमा संगठित नागरिक अभियान आवश्यक हुने उल्लेख गर्दै कोईरालाले नागरिकका आवाज सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा राज्य र समाजसम्म पु¥याउनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
नोटः यो कार्यक्रम सोमवार अबेर सकिएकाले आजमात्रै समाचार बनाइ पठाएका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।

Related Post
Share

This website uses cookies.