बिद्युतिय पोलमा जथाभावी राखिएका तारले उपत्यका कुरुप बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बिद्युतिय पोलमा जथाभावी राखिएका तारले उपत्यका कुरुप बन्दै

काठमाडौं, ४ कात्तिक । नेपालको संघीय राजधानी काठमाडौं अव्यस्थित तारका कारण कुरुप बनेको छ । दूर सञ्चार, इन्टरनेट सेवा प्रदायक र विद्युत्का तारले सहर कुरुप बनाएको त छ नै पोलमा जेलिएका तारको अत्यधिक चापले पोल ढलेर दुर्घटना हुन सक्ने, तार सर्ट भएर अगलागी हुने जोखिम पनि उत्तिकै छ ।

काठमाडौंका शहर एवं गल्लीहरु तारैतारमा जेलिएका छन् । फुटपाथमा लत्रिएका अव्यस्थित तारका कारण पैदलयात्रुलाई हिड्न समस्या छ । दृष्य प्रदुषण पनि उत्तिकै भएको छ ।

यो समस्याको बारेमा सम्बन्धित निकाय जानकार नभएको होइन, तर गम्भीरता पूर्वक लिएको पाइदैन । बेलाबेलामा उच्च स्तरबाट तार व्यवस्थापन गर्न निर्देशन पनि जारी हुन्छ । तर कार्यान्वयन हुन सकेको छैन ।

सहरको सुन्दरता कायम गर्न स्थानीय तहले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्छ । तर त्यो पनि हुन नसक्दा राजधानी तारकै कारण कुरुप देखिन्छ । अव्यवस्थित तारका कारण हुने दृष्य प्रदुषण र जोखिम न्युनिकरण गर्न सम्बन्धित निकायसँग छलफल गरी यथासिघ्र पहल गर्ने ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदिप अमात्य बताउनुहुन्छ ।

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरदेखि महाराजगञ्ज लगायतका केही स्थानमा यत्रतत्र छरिएका तारलाई व्यवस्थित गर्ने प्रयास गरेको छ । नेपाल विद्युत् प्राधिकरणले लैनचौर–महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गर्न काम गरिरहेको छ ।

तैपनि एकीकृत प्रयास भने भएको देखिँदैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सात सय भन्दा बढी केवल टेलिभिजन, एक सय भन्दा बढी इन्टरनेट सेवा प्रदायकहरु दर्ता भएका छन् ।

तिनै सेवाप्रदायले झुण्डाएको तारका कारण सहर कुरुप बनेको छ । यो समस्या समाधान गर्न एकीकृत करीडोर बनाइने दूर सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणले जनाएको छ ।

त्यसका लागि अध्ययन भइसकेको र सोही अनुसार काम गर्ने प्राधिकरणका निर्देशक मिन प्रसाद अर्याल बताउनुहुन्छ ।

विभिन्न संस्थाद्वारा समय समयमा अध्ययन हुने, थुप्रै योजना पनि बन्ने तर कार्यान्वयन नहुने पुरानै समस्याका कारण राजधानीका तार व्यवस्थित हुनेमा विस्वस्त भइहाल्न भने सकिदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);