चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक र उपलब्धिमुलक | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक र उपलब्धिमुलक

काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चर्चा ताजै छ । अझै सेलाएको छैन । दुई दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति सी चीन फर्किए पनि भ्रमणको रौनक नेपालमा अझै छ ।

छिमेकी देश भईकन पनि २३ वर्षपछि नेपालको भ्रमण भएको, भ्रमणका क्रममा दुई देशबीच भएका २० बुँदे समझदारीपत्रमा हस्ताक्षर, नेपालको हितमा सदैव प्रतिवद्ध रहने प्रतिवद्धता यसका मुख्य कारण हुन् ।

भ्रमणलाई सफल बनाउन सरकारसहित सबै राजनीतिक दल गम्भीर हुनुले भ्रमण ऐतिहासिक सफल र उपलव्धीमूलक पनि रहेको छ । यस मामिलामा विपक्षी दलले मात्र होइन सर्वसाधारणले पनि खुलेर सरकारलाई धन्यवाद पनि दिएका छन् । यसबाट नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको विश्लेषण पनि गर्न थालिएको छ ।

छिमेकी देश चीनबाट विगत दुई दशक बढीदेखि राष्ट्रपति तहमा नेपालको भ्रमण हुन सकेन थिएन । यस पटक चिनियाँ राष्ट्रपति तहबाट नेपालको राजकीय भ्रमण भएको छ । सरकारको निरन्तरको पहल र राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणाले यो भ्रमण सफल भएको हो ।

त्यसो त, नेपाल चीन सम्बन्ध नयाँ पनि होइन । सदियौं पुरानो सम्बन्धलाई ताजा पार्न यस पटकको राष्ट्रपतिको भ्रमण सफल भएको छ । नेपालले जुन प्राथमिकताका साथ भ्रमणलाई सफल बनाउन पहल जारी राख्यो, चीनले पनि त्यही अुनरुप नेपाल भ्रमणलाई प्राथमिकतामा राख्दा यो सफल भएको हो ।

यसलाई सत्तापक्षले सरकारको उच्च उपलव्धीको रुपमा लिएको छ । विपक्षी दलहरुले भने यसलाई सरकारको मात्र नभई सिंगो नेपाल र नेपालीकै सफलता र उपलव्धीको रुपमा विश्लेषण गरेको छ ।

चिनियाँ राष्ट्रपति सी नेपाल र नेपालीको न्यानो माया लिई चीन फर्किसक्नु भएको छ । नेपालीहरुले चिनियाँ राष्ट्रपतिसहितको उच्चस्तरीय प्रतिनिधि मण्डललाई भुल्ने नसक्ने आतिथ्यता प्रदान गरेका छन् ।

चिनियाँ राष्ट्रपतिको प्रतिनिधि मण्डल नेपाल आउँदा विमानस्थलमै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री,मन्त्री लगायत उच्च सरकारी अधिकारीहरु विमानस्थलमा जहाज रोकिएको ठाउँमै गएर हार्दिकतापूर्ण स्वागत गर्नु भयो ।

भ्रमण अवधिभर र विदाइको क्रममा पनि नेपालको तर्फबाट त्यतिकै हार्दिकता प्रकट गरियो । यो हार्दिकतापूर्ण स्वागत र विदाईलाई चिनियाँ राष्ट्रपतिले सायदै भुल्न सक्नुहोला ।

राष्ट्रपतिले पनि भ्रमणको बेला छोटो अवधि नै भए पनि राष्ट्रपति र प्रधानमन्त्रीको अलावा विपक्षी दलका नेता र सत्तारुढ दलका नेताहरुसँग शिष्टाचार भेट गर्नु भयो । जसले नेता नेता बीचको सम्बन्धलाई मात्र होइन, देश देश बीचको सम्बन्धलाई पनि प्रगाढ बनाउन मद्दत गरेको छ ।

यो भ्रमणलाई कतिपयले, नेपालमा पनि कम्युनिष्ट सरकार रहेको र चीन त झनै कम्युनिष्ट सरकार भएको मुलुक भएर भ्रमण भएको भनेर पनि टिकाटिप्पणी गरेको पाइन्छ ।

बाहिर आएका टिकाटिप्पणी जस्तै यदि सरकार र सरकार चलाउने पार्टीले पनि यही सोचेको छ भने, यो किमार्थ सत्य हुन सक्दैन । चीनले नेपालमाको सत्तामा छ भन्ने भन्दा पनि आपसी सदभावलाई बढी महत्व दिंदै आएको छ ।

इतिहासलाई हेर्ने हो भने, नेपालमा जुनसकै दलको सरकार होस चीनले हेर्ने दृष्टिकोण दलीय सरकार भन्दा छिमेकी देश र स्वतन्त्र देशको रुपमा नै हेर्ने गरेको पाइन्छ ।

विगतमा भएका उच्चस्तरीय भ्रमण र सहयोग आदान प्रदानले पनि त्यसलाई पुष्टि गर्दै आएको छ । दक्षिणी छिमेकी देशको तुलनामा उत्तरी छिमेकी देश यो मामिलामा अलि बढी नै गम्भीर रहेको पाइन्छ ।

नेपालको स्वाधिनता र स्वतन्त्रतालाई सदैव सम्मानजनक रुपमा नै हेरेको पाइन्छ । जब कि दक्षिणी छिमकी देशको दबाब र प्रभाव तहतहमा देखिन्छ । कसको नेतृत्वमा सरकार बनाउने र कुन सरकारलाई ढाल्ने र बनाउनेसम्मको खेलमा खुलेआम नै लागेको देखिन्छ ।

तर उत्तरी छिमेकी देश नेपालमा बन्ने सरकारको मामिलामा सदैव तटस्थ रहंदै आएको देखिन्छ । यसर्थ पनि चीनलाई हेर्ने नेपालीको दृष्टिकोण सदैव सन्तुलित र सौहार्दपूर्ण नै देखिन्छ । यिनै परिवेशले पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण विवादरहित र ऐतिहासिक बन्न पुगेको छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणले लिने दिने भन्दा पनि आपसी सम्बन्ध र सौहार्द्धताले बढी महत्व पाएको छ । भलै भ्रमणको दौरानमा नेपाल चीनबिच २० वटा विषयमा सहमति र समझदारीमा हस्ताक्षर भएको छ ।

अनि नेपाल चीनको १४ बुँदे संयुक्त घोषणा पत्र पनि जारी भएको छ । समझदारीपत्र र घोषणापत्रलाई हेर्दा नेपालप्रति चीनको सदभाव नै देखिन्छ ।

नेपालले चाहेको केरुङ काठमाडौं हुँदै लुम्बिनीसम्म पुग्ने रेलमार्गको कुरा होस या केरुङ काठमाडौं सुरुङ मार्गमा । नेपालको चाहनालाई चीनले सहयोग गर्ने प्रतिवद्धता आएको छ ।

सुविधाजनक सडक सञ्जाल भूपरिवेष्ठित मुलुक नेपाललाई भूजडित बनाउने प्रतिवद्धता आएको छ । जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपालको पक्षमा साथ दिने वचन आएको छ ।

यसैगरी नेपालको पर्यटन विकासमा मद्दत गर्ने बढी भन्दा बढी चिनियाँलाई नेपाल पठाउने भनिएको छ । नेपालको जलाधारको विकास गर्ने, तातोपानी सडकलाई स्तरोन्नती गर्ने, पानीका मुहान संरक्षणमा सहयोग गर्ने, तीन वर्षमा ५६ अर्ब सहयोग गर्ने, जलविद्युतको क्षेत्रमा सहयोग गर्ने भनिएको छ ।

यी सबै सहयोग अनुदानमा गर्ने वचन नेपालले पाएको छ । चिनियाँ पक्षबाट प्राप्त यी सबै सहयोग प्रति र सहयोग जुटाउन सरकारले गराएको यो ऐतिहासिक भ्रमणप्रति नेपाल सरकार धन्यवादको पात्र बनेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण यो सरकारको मात्र सफलता भने पक्केै होइन । सम्पूर्ण नेपालीले पनि गौरव गर्न पाएकोले यो भ्रमण सम्पूर्ण नेपालीको पनि सफलताको रुपमा लिन सकिन्छ ।

यसले नेपाल र नेपालीको मात्र होइन, विश्वको नै ध्यान खिचेको छ । २३ वर्ष पछि चिनियाँ राष्ट्रपति नेपालको भ्रमणमा किन आए या गए होलान भन्ने प्रश्न पनि धेरैको मनमा उठेको हुनुपर्छ ।

यसर्थ, यसमा सरकार र राजनीतिक दलहरुले भुल्नै नहुने कुरा के पनि छ भने, छिमेकी देश र दाताराष्ट्रको सहयोग र अनुदानमा नेपाल कहिलेसम्म निर्भर रहने ? चट्टान फोरेर पिपल उम्रने र हर वस्तुको उत्पादनको लागि सदावाहर मौसम रहेको देश नेपाल आफ्नै बलमा कहिले आत्मनिर्भर बन्ने ? नयाँ पुस्ताका हर नेपालीले यसको उत्तर खोजिरहेका छन् ।

अहिले चीनले दिएको अनुदान सहयोग कै कुरा गर्ने हो भने, न अहिले नेपाल कुनै विपत्तीमा परेको छ न त भोकमरी लागेर खानै नपाउने अवस्थामा नेपाली छन् । किन चाहियो अनुदान र ऋण सहयोग ? ऋण र अनुदानले नेपालीको स्वाभिमान र शिर माथि उठ्न सक्दैन ।

अहिले नेपालीलाई चाहिएको छ, नेपालको हर क्षेत्रमा लगानीमैत्री वातावरण । स्वदेशी या विदेशी नागरिकले स्वतन्त्र र ढुक्क रुपमा व्यवसाय गर्ने वातावरण अहिलेको आवश्यकता यही हो ।

सबै भन्दा बढी युवा भएको देश भनेर चिनिएको नेपालका युवा काम नपाएर विदेशी भूमिमा धाउन बाध्य छन् । लगानीको वातावरण हेरेर बसेका साना स्वदेशी पुँजीका लगानीकर्ता आत्तिएका छन् । तिनलाई स्वदेशमै गरिखाने माध्यम र अवसर सृजना आजको आवश्यकता हो ।

बाँझो जमिनलाई उर्वरशील बनाउनु आजको आवश्यकता हो । ढुक्क भएर बाँच्न र लगानी गर्ने अवसर अहिलेको आवश्यकता हो । अनुदाननमा आश्रित नभई नेपाल र नेपालीलाई आत्मनिर्भर कसरी बनाउने भन्नेमा सत्तारुढ दल र अन्य दलहरुले सोच्नु र योजना बनाइ कार्यान्वयन गर्नु नै वृहत्तर नेपाल र नेपालीको हितमा हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);