५० वर्षीय अक्षयकुमारबारे रोचक तथ्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

५० वर्षीय अक्षयकुमारबारे रोचक तथ्य

अभिनेता अक्षयकुमार शनिबार (९ सेप्टेम्बर)मा ५० वर्ष पुगेका छन् । एक्सन, लभ, सेन्टिमेन्ट्स तथा कमेडी, जुनसुकै भूमिकामा पनि उत्तिकै जम्ने गरेका अक्षयका अधिकांश फिल्म सफल छन् । पछिल्लो समय उनी अभिनीत ‘ट्वाइटेलः एक प्रेमकथा’ पनि सुपरहिट भयो । अक्षय ५१ वर्षमा लागेको अवसरमा भारतीय अनलाइनले उनीबारे विविध रोचक तथ्य प्रस्तुत गरेका छन् ।

  • सन् १९६७ सेप्टेम्बर ९ मा जन्मिएका अक्षयकुमारको खास नाम राजीव हरिओम भाटिया हो । दिल्लीको चाँदनी चोकमा बाल्यकाल बिताएका अक्षयले मुम्बईको डन बास्को स्कुल र गुरु नानक खालसा कलेजमा अध्ययन गरेका हुन् ।

 

  • मार्सल आट्र्समा गहिरो रुचि भएकाले अक्षयकुमार मार्सल आट्र्सको ट्रेनिङ गर्न बैँकक गएका थिए । त्यतिवेला गुजारा चलाउन खाली समयमा उनले त्यहाँ सेफ र वेटरको काम पनि गरेका थिए ।

 

  • बैंककमा मार्सल आर्टको कोर्स पूरा गरेर पछि मुम्बई फर्किएर उनले मार्सल आर्ट सिकाउन थाले । त्यही क्रममा उनका एकजना चेला, जो फोटोग्राफर पनि हुन्, उनले तपार्इं हेन्डसम हुनुहुन्छ, मोडलिङममा लाग्दा राम्रो हुन्छ भनेर सुझाब दिएका थिए ।

 

  • चेलाको सुझाब अक्षयले मनन गरे । त्यसपछि मोडलिङमा लाग्ने बाटो खोजे । सोचेको केही दिनमै अक्षयले मोडलिङ गर्ने अवसर पाए । उनले दुई दिन सुटिङ गर्नुपर्‍यो । त्यहाँ उनले यति धेरै पारिश्रमिक पाए कि जुन उनले एक महिना मार्सल आर्ट प्रशिक्षण दिँदा पनि पाउँदैनथे । त्यसपछि उनले मोडलिङ, फिल्ममै करिअर बनाउने निधो गरे ।

 

  • त्यसपछि अक्षय मोडलिङका साथै फिल्म निर्माताको घरघरमा पुग्न थाले । फिल्ममा अभिनय गर्ने अवसर खोज्न थाले । उनलाई एउटा विज्ञापनको सुटिङका लागि बैँग्लोर जानुपर्ने थियो । कसो–कसो उनको फ्लाइट मिस भयो । त्यसपछि उनी खाली भए । त्यो समयको उपयोग गर्दै उनी एकजना निर्माताकोमा काम माग्न गए । भाग्यको खेल, उनले निर्माता प्रमोद चक्रवर्तीको ‘दिदार’ फिल्ममा हिरो बन्ने मौका पाए ।

 

  • अक्षयले सन् १९८७ मा महेश भट्टको आज फिल्ममा मार्सल आर्ट प्रशिक्षकको निकै छोटो भूमिका निर्वाह गर्न पाएका थिए । फिल्ममा उनको भूमिका जम्मा सात सेकेन्डको थियो ।

 

  • राजेश खन्नाले ‘जय शिव शंकर’ नामक फिल्म निर्माण गर्न लागेको र त्यो फिल्ममा उनले नयाँ हिरो खोजिरहेको अक्षयकुमारले थाहा पाए । त्यसपछि उनी राजेश खन्नालाई भेट्न उनको अफिसमा गए । अक्षयले खन्नालाई दुई–तीन घण्टा कुरे । तर, खन्ना अक्षयलाई नभेटिकनै त्यहाँबाट बाहिरिए । उनै अक्षयले पछि, तिनै राजेश खन्नाकी छोरी ट्विंकल खन्नासँग बिहे गरे । त्यो कुरा सम्झिँदा अक्षयलाई पनि अचम्म लाग्छ रे ।
  • अक्षय प्रमुख हिरो भएको फिल्म सन् १९९१ को ‘सौगन्ध’ हो ।

 

  • जब अक्षयलाई बलिउडले पत्याउन थाल्यो, त्यसपछि उनको हातमा लगालग फिल्म पर्दै गए । सन् १९९४ मा उनका ‘ऐलान’, ‘ए दिल्लगी’, ‘जय किसन’, ‘मोहोरा’, ‘मै खिलाडी तु अनाडी’, ‘एक्के पे एक्का’, ‘अमानत’, ‘सुहाग’, ‘जख्मी’, ‘दिल’, ‘जालिम’ र ‘हम है बेमिसाल’ गरी ११ वटा फिल्म रिलिज भएका थिए ।

 

  • युवतीको मामलामा पनि अक्षय निकै अघि छ । उनले पूजा बत्रा, रविना टन्डन र शिल्पा शेट्टीसँग उनले जमेर रोमान्स गरे । तर, बिहे भने उनले ट्विंकल खन्नासँग गरे ।

 

  • ट्विंकलसँग बिहेपछि अक्षयको नाम प्रियंका चोपडासँग जोडियो । उनीहरूले केही फिल्ममा सँगै अभिनय पनि गरे । प्रियंकासँगको अफेयरका कारण ट्विंकल निकै तनावग्रस्त भइन् । अन्ततः, उनले पति अक्षयलाई उप्रान्त प्रियंकासँग काम नगर्न वाचा गराइन् । अक्षयले पत्नीसँगको त्यो वाचा अहिलेसम्म तोडेका छैनन् ।

 

  • अक्षयका आठवटा फिल्ममा ‘खिलाडी’ शब्द आएको छ, त्यसकारण उनलाई ‘खिलाडीकुमार’समेत भन्ने गरिएको छ । खिलाडी नाम जोडिएका उनका अधिकांश फिल्म हिट छन् । फिल्म हुन्– ‘खिलाडी’, ‘मै खिलाडी तु अनाडी’, ‘सबसे बडा खिलाडी’, ‘खिलाडियाँेका खिलाडी’, ‘मि एन्ड मिसेस खिलाडी’, ‘इन्टरनेसनल खिलाडी’, ‘खिलाडी ४२०’ र ‘खिलाडी ७८६’ ।

 

  • खिलाडियाँेका खिलाडी फिल्ममा अक्षयको नाममा एउटा गीत बनाइएको छ । गीतको बोल छ– ना हम अमिताभ, ना दिलीपकुमार, ना किसी हिरोको बच्चे, हम हे सीधेसाधे अक्षय, अक्षय । गीतमा विना कुनै गडफादर या कुनै नातेदार अक्षयले बलिउडमा आफ्नो स्थान बनाएको भाव उल्लेख छ ।

 

  • सन् २००० मा बनेको कमेडी फिल्म ‘हेराफेरि’ अक्षयको करिअरको टर्निङ प्वाइन्ट सावित भयो । त्यतिवेला एक्सन तथा फर्मुला फिल्म दर्शकले मन पराउने क्रम घटेको थियो । त्यही वेलामा अक्षय कमेडी भूमिकामा प्रस्तुत भए । सो फिल्मबाट अक्षयले आफूलाई कमेडी पनि राम्रो गर्ने हिरोका रूपमा प्रमाणित गरे । त्यसपछि उनी अहिलेसम्म पनि कमेडी फिल्ममै जमिरहेका छन् ।

 

  • अक्षय निकै अनुशासित जीवन जिउँछन् । उनी राति साढे ९ बजे सुतिसक्छन् भने बिहान ४ बजे उठिसक्छन् । यदि कुनै दिन राति सुत्न ढिला भयो भने पनि उनी बिहान ४ बजे नै उठ्छन् । त्यसकारण, अक्षय फिल्मी पार्टीदेखि टाढै बस्ने गरेका छन् ।

 

  • बलिउडमा अधिकांश फिल्मको सुटिङ दिउँसोदेखि अबेर रातिसम्म गरिन्छ । तर, अक्षयको फिल्म खिच्ने काम भने बिहानैदेखि भएर साँझ नौ बजेसम्म प्याकअप भइसक्छ ।

 

  • अक्षय वर्षमा दुईचोटि परिवारका साथ घुम्न निस्किन्छन् । उनी प्रायः घुम्न यस्ता देशमा जान्छन्, कि त्यो देशको बारेमा कमैलाई मात्र थाहा होस् । उनी बाटोछेउको होटेलमा खाना खान मन पराउँछन् ।

 

  • अक्षयकी छोरीको नाम नितारा हो । नितारा बाबु अक्षयलाई अक्की बेटा भनेर बोलाउँछिन् । अक्षयका छोरा अराजका बारेमा उनका हजुरबुबा राजेश खन्नाले भविष्यवाणी गरेका छन् कि, उनी बलिउडको सुपरस्टार हुनेछन् ।

 

  • अक्षय आफ्ना छोराछोरीलाई मिडियाबाट टाढै राख्ने गरेका छन् । यसबाट उनीहरूको बाल्यकाल सहज ढ्रंगले व्यतित हुने बुझाइ अक्षयको छ ।

नयाँ पत्रिकाले खबर लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);