कस्तो भयो कांग्रेसको दोश्रो चरणको जागरण अभियान ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कस्तो भयो कांग्रेसको दोश्रो चरणको जागरण अभियान ?

सरकारविरुद्ध विरोध प्रदर्शन गर्नु नै कांग्रेसको जागरण अभियानको उपलव्धी हो त?

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको दोश्रो चरणको जागरण अभियान तामझामका साथ सकेको छ । जिल्ला जिल्लामा शीर्ष नेतृत्वको उपस्थितिमा अभियान जसोतसो सके पनि कार्यक्रम भने विवादमुक्त बन्न सकेन ।

बाँकेमा भएको जागरण अभियानमा झडप हुँदा नेता नै घाइते भए भने सप्तरी र सिन्धुपाल्चोकमा कांग्रेसकै नेताहरुबीच झगडा भयो । जागरण अभियानमा पनि कांग्रेस भित्रको गुटबन्धी स्पष्टै देखियो ।

सदनमा सशक्त प्रतिपक्षीको भुमिका खेल्न नसकेको र पार्टी भित्रको विवाद मिलाउन नसकेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि लाग्दै आएको छ । यस्तो आरोप खेपिरहेको पार्टी शुद्धिकरण र पार्टी सुदृढिकरणको लागि भनेर देशव्यापी जागरण अभियान चलायो ।

करिव १ महिना बसेको केन्द्रीय समितिको बैठक लगत्तै सरकारका गलत कामको भण्डाफोर गर्ने, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग साक्षात्कार गर्ने अभियानसहित कांग्रेसले जागरण अभियान चलाएको थियो ।

भदौ २५ गतेदेखी देशैभर संचालन गरेको दोश्रो चरणको जागरण अभियान मंगलवार समापन त भएको छ तर यसको उपलव्धी के भन्नेमा भने पार्टी भित्र र बाहिरबाट प्रश्न उठाइएको छ ।

नेता–कार्यकर्ताहरु सदरमुकाममा उतारेर सरकारविरुद्ध प्रदर्शन र विरोध सभा आयोजना गर्न जिल्लाहरुलाई परिपत्र गरिएको थियो । सरकारविरुद्ध विरोध प्रदर्शन गर्नु नै कांग्रेसको जागरण अभियानको उपलव्धी हो त? अहिले राजनीतिक वृत्तमा प्रश्न उठाइएको छ ।

जागरण अभियानका क्रममा सिन्धुपाल्चोक र सप्तरीमा गुटगत रुपमा विरोधसभा भए । एकले अर्काे पक्षलाई निषेध गर्नेसम्मको हर्कत जागरण अभियानको क्रममा देखिए ।

केन्द्रमा विद्यमान गुटको प्रभाव जिल्ला तहसम्म देखिन्थ्यो । बिवादहरु भएपनि यसले सुतेको कांग्रेसलाई उठाउने काम गरेको केही नेताको दावी छ । जागरण अभियानको उपलव्धी के भयो या भएन भन्नेबारेमा आगामी केन्द्रीय समितिको बैठकमा समिक्षा गरिने कांग्रेसका नेताहरु बताउँछन् ।

कांग्रेसले ७७ वटै जिल्लामा जागरण अभियान गर्ने क्रममा सरकारका गलत कामको वारेमा स्थानीय कार्यकर्ताबाट जानकारी लिने र भण्डाफोर गरेको थियो । यसकै आधारमा आगामी दिनमा पार्टीको नीति तथा योजना बनाइ अघि बढ्नुपर्ने सुझाव नेताहरुको छ ।

नेपाली कांग्रेसमा गुट उपगुटको चर्को प्रभाव छ भन्ने कुरा जागरण अभियानमा लुक्न सकेन । कार्यक्रम स्थलमै गुटको प्रभाव छताछुल्ल नै देखिन्थ्यो । पार्टी महाधिवेसन नजिकिंदै गर्दा शीर्ष नेताहरु जागरण अभियानलाई पनि महाधिवेसनमा आफ्नो स्थान सुरक्षीत गर्नका लागी प्रयोग गरिरहेका देखिन्थे ।

यो आरोप पहिलो चरणको जागरण अभियानमा पनि नेतृत्वमाथि लागेको थियो । यस पटक पनि नेतृत्व यो आरोपबाट चोखो रहन सकेन । जागरण अभियानको समीक्षा आगामी असोज १० गते बस्ने केन्द्रीय समिति बैठकले कसरी गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);