एजेन्सी, २४ भदौ । युएस ओपनको फाइनलमा विश्व नम्बर एक राफायल नाडाल र २८ औं बरियताका केभिन एण्डरसनबीच प्रतिस्पर्धा हुने भएको छ ।नाडाल र एण्डरसन दुवैले आज भएको सेमिफानल खेल जितेर फाइनलको यात्रा तय गरेका हुन् ।
दक्षिण अफ्रिकाका एण्डरसन १२ औं बरियताका स्पेनिस पाब्लो कार्रेनो बुस्तालाई पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् । पहिलो खेल ४–६ ले गुमाएका एण्डरसनले त्यसपछि लगातार तीन सेट जिते । उनले तीन सेट ७–५, ६–३ र ६–४ ले जितेका हुन् । एण्डरसन सन् १९६५ अर्थात ५२ वर्षपछि पुरुष एकलमा युएस ओपनको फाइनलमा पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् ।
आजै भएको अर्को सेमिफाइनलमा विश्व नम्बर एक राफायल नाडालले २४ औं बरियताका अर्जेन्टिनी आन मार्टिन डेल पोत्रोलाई पराजित गरेर फाइनलको यात्रा तय गरेका हुन् । पहिलो सेट ४–६ गुमाएका नाडालले त्यसपछिका तीन सेट ६–०, ६–३ र ६–२ ले जिते ।