फागुन १६ शुक्रबार ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनालगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । यसरी गएको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको करकट्टी गर्नुअघि ११ अर्ब ३६ करोड रुपैयाँ नाफा देखिएको हो ।
आर्थिक वर्ष २०७२र७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरु निरन्तर नाफामा छ । आर्थिक वर्ष २०८०र८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाा नाफा कमाएको थियो ।
आर्जित नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ ।प्राधिकरणले ६ महिनाको विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद भएको छ ।
खरिद भएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरेको छ । गएको साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।




