एजेन्सी , १९ असार । इंग्लिस फुटबल क्लव चेल्सीले आफ्ना पूर्व खेलाडी फ्रांक लाम्पार्डलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । ४१ बर्षे लाम्पार्डलाई लामो समयको छलफलपछि क्लवको प्रशिक्षकमा ल्याएको हो ।
चेल्सीका पूर्व मिडफिल्डर लाम्पार्ड तीन वर्षका लागि स्टाम्फोर्ड ब्रिजमा अनुबन्ध भएको हुन् । पूर्व प्रशिक्षक माउरिसीयो सारी युभेन्टस गएपछि उनको स्थानमा लाम्पार्डलाई ल्याइएको हो ।
डर्वीका प्रशिक्षक रहेका लाम्पार्डले खेलाडी जीवनमा १३ बर्ष चेल्सीमा विताएका थिए । दोस्रो डिभिजनको क्लव डर्वीलाई पहिलो पटक प्रशिक्षण गर्दा लाम्पार्डले फाइनलसम्म पुर्याएका थिए ।
लाम्पार्डले क्लवमा आउनुको मुख्य लक्ष्य चेल्सीको साखलाई अझ बढाउन र झन उचाई थप्न भएको बताएका छन । लाम्पार्ड चेल्सीको प्रशिक्षकका रुपमा आएका २००३ पछि १० औं व्यक्ति हुन ।