काठमाडौं, १८ असार । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
किनारा ओभल मैदानमा भएको खेलमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चीन २३ ओभर एक बलमा सबै विकेट गुमाउँदा ५३ रनमात्र बनाउन सफल भयो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले चार ओभर पाँच बलमा लक्ष्य हासिल गरेको हो । ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो ।
नेपालको जितमा पवन शर्राफ र रित गौतमले नट आउट पारि खेले । पवनले पाँचौ ओभरमा २ छक्का र २ चौकाको मद्दतले २१ रन जोडेपछि नेपाल सहजै विजयी भयो । समग्रमा पवन ४६ रनमा नट आउट रहँदा रित गौतम १० रनमा नट आउट रहे ।
बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगितबाट बाहिरिएको छ । यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा समूह विजेता र उप विजेताको टुंगो नेपाल र सिंगापुरबीचको खेलको नतिजाले तय हुने छ ।




