काठमाडौं, ३० जेठ । सांसदहरुले देशको समसामयिक विषयमा सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको शुन्य समयमा सांसदहरुले आ आफ्ना क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।
सांसद बिमला बिकले संबिधानको मर्म बिपरित लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना सम्बन्धि गरेको बिज्ञापन रद्ध गर्न माग गर्नुभयो । उहाँले संविधानले समानुपातिक समावेशीको हक प्रत्याभुति गरेको उल्लेख गर्दे त्यसलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी सांसद भरतकुमार शाहले धान रोप्ने समय सुरु हुनै लाग्दा रायायनिक मल अभाव देखिएको भन्दै तत्काल किसानका लागि डिएपि र युरिया मलको व्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो ।
सांसद मेटमणि चौधरीलेले मुलुकभरका गुठी किसानहरु सरकारले ल्याउदै गरेको गुठी विधेयकको पक्षमा रहेको भन्दै न्याय र समतामा आधारित विधेयक ल्याएर गुठी पीडीत किसानलाई न्याय दिलाउन सरकारसंग अनुरोध गर्नुभयो ।
सांसद रंगमती शाहीले हुम्लाका लागि लगिएको चामल नेपालगञ्ज र सुर्खेतको गोदाममा थन्किएको भन्दै हुम्लाका जनतालाई हवाईमार्ग मार्फत चामल पुर्याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।