प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कुन सांसदहरुले के भने? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कुन सांसदहरुले के भने?

काठमाडौं, २८ जेठ । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद गंगा चौधरी सत्गौवाले सामन्तवादको अन्त्य गर्ने भएकाले गुठी विधेयक जसरी पनि ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “गुठी सम्बन्धी विधेयक सदनमा आउनुभन्दा पहिले त्यो विधेयकको भु्रण हत्या गर्न खोजिदैछ । त्यो कदापि हुनु भएन । त्यो गुठीको जमिन संग हजारौ भुमिहिन जोताहा किसानका छोरा छोरीको भविष्य गाँसिएको छ । त्यो चकनाचुर पार्न खोजिदै छ । गुठी विधेयकले बर्षौदेखिको सामन्तवादको अन्त्य गर्नेछ । गुठीको जमिन मुठ्ठीभरको मान्छेको अधिनबाट लिएर जोताहा किसानहरुको नाममा गरिनुपर्दछ । नेपालको संविधानले धर्म निरपेक्षताको व्यवस्था गरिसकेको हुनाले हिन्दु धर्मको रक्षा गुठीको जमिनबाट गरिनु हुदैन ।”

सांसद झपट बहादुर रावलले कैलाली र कंचनपुरमा यही जेठ २३ गते विहिबार सांझ आएको हावा हुरीका कारण ठुलो जनधनको क्षति भएको र पीडितहरु अहिले पनि खुला आकासमुनि बस्न बाध्य भएको भन्दै तत्काल उचित वासस्थानको साथै राहत र क्षतिपुर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “नेपाल सरकारको सौतेले व्यवहारको ध्यानाकर्षण गर्न चाहन्छु ।”

सांसद कृष्णकुमार श्रेष्ठले तनहुँ जिल्लाको भानु नगरपालिकाकामा चितुवाको आक्रमणबाट ४ जना बालकको ज्यान गएको र अहिले त्यस क्षेत्रका जनता त्रसित रहको भन्दै नरभक्षी चितुवा नियन्त्रणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले शुन्य समयमा उठेका विषय शुन्यमै सिमिति नगर्न पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कृष्ण प्रसाद दाहालले मकवानपुर सहितका जिल्लामा ३२ सालमा नापनक्सा भएको जग्गाधनी पुर्जा गाउँमा नपुगेको, र पुर्जा नभएका कारण स्थानीयले वित्तिय कारोबार गर्न नपाएको भन्दै तत्काल समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कृष्ण बहादुर राईले काठमाण्डौ क्षेत्र नम्बर ३ र २ मा पर्ने बागमति नदीमा गरिदै आएको बागमति व्युटिफिकेसनको काम विभिन्न कारणले रोकिएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खगराज अधिकारी गण्डकी प्रदेश र प्रदेश नम्बर ५ प्रवेश गर्ने बिजयखोलाको पुल भग्नावशेष जस्तो अवस्थामा रहेको भन्दै सो स्थानमा पक्की पुल निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खेम प्रसाद लोहनीले पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डमा १० मिनेटको बाटोमा प्रत्येक दिन यात्रुहरुले ३/४ घण्टा लाममा बस्नु परेको भन्दै सडक क्षमता भन्दा बढी भारवहन गरेका र लामा सवारी साधनलाई नौबिसेमा रोकी बैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद उमा रेग्मीले जेठ ३ गते चितवन गोन्द्राङमा नेकपाका कार्यकर्ताहरुले ढाँट जलाउँदा  प्रहरी सहायक निरीक्षक कल्पना खड्का माथि नै पेट्रोल खन्याएर आगो लगाईएको घटना प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउने घटनाका दोषिलाई कारवाहीको माग गर्नुभयो ।

सांसद उमाशंकर अरगरिया धनुषा जिल्लामा निर्माण भईरहेको हुलाकी सडकको गुणस्तरीय अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद अमृता थापा, इन्दु कुमारी शर्माले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न संसदीय समितिले दिएको निर्देशनको स्वागत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);