प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कुन सांसदले के भने? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कुन सांसदले के भने?

काठमाडौं, १० भदौ । सांसदहरुले भ्रष्टाचार नियन्त्रण बन विनास तथा बन र निकुञ्ज नजिकका बासिन्दालाई जंगली जनावरको आक्रमणबाट जोगाउने लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ-आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बिमला नेपालीले भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्ने सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउनुभयो । उहाँले सिंहदरबारदेखि मन्त्रीक्वाटरसम्म बिचौलिया मार्फत मन्त्रीका आफन्तहरुले बार्गेनिङ गरेको गुनासो आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठुलाबडाले गरेको करोडौको भ्रष्टाचार नदेख्ने र साना कर्मचारीलाई पक्रेको नाममा फसाउने काम गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बिमला बिकले बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बागको आक्रमणमा परि गेरुवा र ठाकुरद्धारा गाउँपालिकाका २ जना स्थानीयको मृत्यु भएको भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो । मुलुकभर नै जंगली क्षेत्र वा निकुञ्ज नजिक बस्ने सर्वसाधरण जंगली जनावरको आक्रमणबाट बच्न बासस्थान छोडेर अन्यत्र जाने क्रम बढेको भन्दै उहाँले निकुञ्जको सिमानामा ठुला ठुला पर्खाल निर्माण गरि स्थानीयको जीउ धनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भरतकुमार शाहले सरकारले मलखादमा यसअघि दिंदै आएको अनुदान रकममा कटौती गरेको भन्दै किसानले पाएको सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमसेनदास प्रधानले सरकारले यस बर्षलाई वृक्षरोपण बर्ष घोषण गरेको भएपनि त्यस विपरित बन मास्ने काम भएको तथा राजधानी नजिकका वरपरका डाँडामा पनि भु-माफिया र बालुवा उत्खनन् गर्ने व्यवसायीले बन जंगल मास्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिना सुब्बाले मुलुकभर डेंगुको प्रकोप फैलिरहँदा पनि नियन्त्रण तर्फ सरकार गम्भीर बन्न नसकेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले धरानबाट देखिएको डेंगु संक्रमण अहिले ४२ जिल्लामा फैलिसक्दा पनि प्रभावकारी कदम चाल्न नसक्नु ‘सरकारको असक्षमता र लापरवाही’ भएको बताउनुभयो ।

सांसद यज्ञ बहादुर बोगटीले अछाम जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गत गैहीटार विनायक खण्ड अन्तर्गत कमलबजार नगरपालिका वडा नम्बर ५ किर्तिपुर खण्डमा लामो समय देखि सुख्खा पहिरो गईरहेको भन्दै नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजेन्द्र कुमार केसीले भने शुन्य समयमा बोलेका विषयको कही कतैबाट सुनुवाई नभएको भन्दै आफुलाई उपलब्ध गराईएको समयमा मौन ब्रत राख्नुभएको थियो ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);