लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्छ : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्छ : कांग्रेस

bishowprakash

३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट कांग्रेसमा प्रवेश 

काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्ने पार्टीको अडान रहेको प्रष्टयाउनु भएको हो । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पार्नु भयो ।

प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताउनु भयो । संविधानलाई केन्द्रमा राखेर लोक सेवा आयोगले पुनः सो विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाई छ ।

प्रवक्ता शर्माले सो विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोक सेवा आयोगले सो विज्ञापन पुन खुलाउन ढिलाई गर्न नहुने बताउनु भयो । काँग्र्रेसले पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष पनि निकालेको छ ।

पार्टीका प्रवक्ता शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको पनि जानकारी दिनु भयो । पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको जनताको विकर्षण रहेको पहिलो चरणको जागरण अभियानको क्रममा देखिएको प्रवक्ता शर्माको भनाई छ ।

जनजागरण अभियानको क्रममा लामो पृष्ठभूमि भएका कम्युनिष्ट पार्टीका नेताहरुसहित ३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट आफ्नो पार्टीका प्रवेश गरेबाट पनि पहिलो चरणको कार्यक्रमबाट जनता आफ्नो पार्टीप्रति आकर्षित भएको निष्कर्षमा पुगिएको पनि नेपाली काँग्रेसले जनाएको छ ।

दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट

काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गते विपी जयन्तिको दिनबाट सुरु गर्नेछ । त्यस अघि सो कार्यक्रमका लागि आवश्यक निर्णय लिन असारको तेस्रो साता केन्द्रिय कार्य समितिको बैठक बोलाउने निर्णय गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनु भयो । दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गर्नु अघि नै नेपाली काँग्रेसले नेविसंघलगायतका भातृ संस्थाहरुको पुनर्गठन गरी सक्ने कार्यक्रम पनि तय गरेको छ । नेपाली काँग्रेसले पहिलो चरणको कार्यक्रम सफल भएको र त्यसले जनतामा नयाँ उर्जा दिएको दावी पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);