राजपामा रडाको : चुनावको मुखैमा मच्चियो भाँडभैलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २१ भदौ । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो। तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो।

 

चर्चामा सबैभन्दा माथि श्रीवास्तव थिए तर राजपाको अध्यक्ष मण्डलले मंगलबार दिउँसो उम्मेदवार सूची सार्वजनिक गर्दा उनको नाम परेन, सिंह मेयरका उम्मेदवार तोकिए।

 

काठमाडौंमा मंगलबार दिउँसो उम्मेदवारको अन्तिम नामावली घोषणा गरेपछि मधेसका कार्यकर्ताबीच व्यापक असन्तुष्टि देखिएको छ। श्रीवास्तवले त पार्टी परित्याग घोषणा गर्दै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

 

क्षयीकरणतर्फ उन्मुख

वीरगन्जमा सल्किएको असन्तुष्टिले दुई नम्बर प्रदेशलाई नै गाँज्ने संकेत देखिएको छ । उसै पनि विवादमा फसेको राजपामा चुनावको मुखैमा भाँडभैलो मच्चिएको छ । सर्लाहीमा उम्मेदवारको नामावली सार्वजनिक भएलगत्तै पार्टीका महासचिव जंगीलाल राय यादवले महासचिव पदबाट राजीनामा दिएका छन्।

 

६ वटा मधेसी पार्टी मिलेर एक बनेको राजपा नेपाल मधेसको बलियो शक्तिका रूपमा उदय हुने आकलन भइरहँदा चुनावको मुखैमा झन् कमजोर देखिन थालेको छ । अध्यक्ष मण्डलका एक नेताले पार्टी क्षयीकरणतर्फ उन्मुख भएको बताए।

 

गुरु-चेला भिडन्त

श्रीवास्तवले राजपामा पैसाको चलखेल भएकाले आफ्नो नाम काटिएको दाबी गरेका छन् । श्रीवास्तवसँगै राजपाका केन्द्रीय सदस्य शशिकपुर मिया, पुरुषोत्तमलाल झा, लक्ष्मीकान्त तिवारी, किशोरी यादवले पनि राजपाबाट राजीनामा दिएका छन् ।

 

राजनीतिक यात्रामा गुरु र चेला भनेर चिनिएका श्रीवास्तव र सिंह ०७० सालको संविधानसभा निर्वाचनमा पनि एउटै क्षेत्र पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । त्यसबेला श्रीवास्तव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट र सिंह तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीबाट मैदानमा थिए।

 

कांग्रेसका उम्मेदवार राजेन्द्रबहादुर अमात्य निर्वाचित भएको उक्त निर्वाचनमा श्रीवास्तव दोस्रो स्थानमा र सिंह तेस्रो स्थानमा सीमित भएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);