बजेटमाथि कांग्रेसको टिप्पणी : लोकरिझाईका पुरानै कार्यक्रम र अघिल्लो बर्षकै कपिपेस्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बजेटमाथि कांग्रेसको टिप्पणी : लोकरिझाईका पुरानै कार्यक्रम र अघिल्लो बर्षकै कपिपेस्ट

congress

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सैद्धान्तिक अन्तरविरोधको जगमा बजेट आएको प्रतिक्रिया दिएको छ । कम्युनिष्ट दर्शनको शास्त्रिय मनोविज्ञान र लोकतान्त्रिक संविधानको वस्तुगत यथार्थताबीच हिंड्दै आफ्नै भनाईलाई खण्डित गर्ने गरि सरकारले बजेट ल्याएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले लिएको अर्थनीति गलत छ भनेर जनतामा जाने सरकारले कांग्रेसले अबलम्बन गरेकै नीतिमा रंग भरेर केही लोकप्रिय कार्यक्रम थपेर बजेट ल्याएको दाबी कांग्रेसले गरेको छ । कांग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि बजेट माथिको औपचारिक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले लोकरिझाईका पुरानै कार्यक्रम ल्याईएको र अघिल्लो बर्षकै बजेटको अन्यौलतालाई कपिपेस्ट गर्ने काम भएको बताउनुभयो।

नविन कार्यक्रम, दुरगामी लक्षहरु र जोखिम मोल्न सक्ने क्षमताको दुई तिहाईको सरकारको आँट बजेटमा नदिएको टिप्पणी कांग्रेसले गरेको छ । निर्वाचनका बेला तात्कालिन दुई कम्युनिष्ट पार्टीले जनतालाई बाँडेको सपना र बजेटको यथार्थता भिन्न भएको भन्दै कांग्रेसले ५ बर्षमा सपनाको १० प्रतिशत मात्रै पनि लक्ष्य प्राप्ती हुने संकेत र संभावना बजेटमा नदेखिएको टिप्पाणी कांग्रेसले गरेको छ ।

प्रवक्ता शर्माले भन्नुभयो “पहिलो पाईला टेक्दै गर्दा डगमगाएर टेक्यो भने दोश्रो पाईलाको असन्तुलन त अनुमान गर्न सकिहालिन्छ । गएको सालको आर्थिक बर्षको बजेटलाई पहिलो पाईला मान्ने हो भने, त्यही पहिलो पाईलाले छोडेको अलमल, अलपत्र योजना र पुरानै अधुरा सपनाहरुको भारी दोश्रो बर्षको बेजेटलाई बोकाईएको छ । र परिणाम पनि कपि पेष्ट ढंगले नै शैलीमा आउने छैन भनेर भन्न सक्ने अवस्था छैन।”

कांग्रेसले तलबवृद्धिलाई सितल मिठाईको संज्ञा दिएको छ । लोकप्रियता रोज्ने कि लोकहित खोज्ने भन्ने सन्दर्भमा सरकारले भिन्न ढंगले बजेटमा शक्तिशाली सरकारको क्षमता प्रस्तुत गर्न नसकेको टिप्पणी कांग्रेसले गरेको छ ।

कार्ययोजना, दृष्टिकोण, इच्छाशक्ति र संरचनागत सुधारका विषय विना नै आयश्रोत र क्षमताको वृद्धि नगरिकन बजेटको आकार बढाईएकाले त्यसले अपेक्षित परिणाम नदिने निष्कर्ष कांग्रेसले निकालेको छ । स्थिर सरकार भए पनि परिणामुखी लक्ष्यमा समर्पित गर्ने अवसरबाट सरकारले गुमाएको भन्दै बजेटले सम्मुन्नत अर्थतन्त्रतर्फ मुलुकलाई डोर्याउन नसक्ने दाबी कांग्रेसले गरेको छ ।

प्रशासनिक खर्चको आकार घटाउँदै जाने, पूँजीगत बजेट बढाउँदै जाने र खर्च गर्ने क्षमतालाई वृद्धि गर्दै लैजाने ढंगको बजेट सन्तुलनको प्रकृति अबलम्बन गर्न नसकेको तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगले सुझाएका विषयमा सरकार गम्भीर हुन नसकेको आरोप कांग्रेसले लगाएको छ । विकास खर्चका लागि विदेशी र स्वदेशी ऋणको जोहो गर्नुपर्ने जोखिमपुर्ण अवस्थामा बजेट आएको उसको निष्कर्ष छ ।

गत बर्षको बजेटमा ल्याईएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावशुन्य भएको, उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याज अदनुदनामा ७ लाख सम्म ऋण उपलब्ध गराई व्यवसायी बनाउने भनिए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको कांग्रेसले दाबी गरेको छ ।

कांग्रेसले अघिल्लो बर्षका कार्यक्रम कार्यान्वयनको वस्तुगत समिक्षा गरि त्यसमा सुधार गर्ने कार्यक्रम बजेटमा नल्याईएको जनाएको छ । बजेट घोषणा गर्दै गर्दा सरकार स्वंमले मुल्यवृद्धिलाई स्वीकार गरेको, शोधानान्तर घाटा न्युन गर्दै लैजान चुकेको, व्यापार घाटा न्युन गर्नु भन्दा आलुचिप्स र केराउमा केन्द्रीत भएको टिप्पणी कांग्रेले गरेको छ । कांग्रेसले विकास कार्यमा सांसदलाई समावेश गर्न नसकेको तथा संघियतालाई सफल बनाउने मनोविज्ञानमा बजेट केन्द्रीत हुन नसक्ने बताएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसको छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले कार्यान्वयन गर्ने तयारी विना मिठाई चटाउने शैलीमा सरकारले बजेट ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकार मिठाई चटाउनेमा छ । विपि कोइराला र गिरिजाप्रसाद कोइराला नाम भनेपछि कांग्रेस पनि शान्त हुन्छ कि भन्ने चिन्ताले बोल्या हो । सरकारले नगर्नुपर्ने काम बजेटमा लेख्या छ भन्या होइन । गर्नुपर्ने काम लेख्या छ तर गुर्नपर्ने काम गर्न सक्ने क्षमता छैन । आँखा चिम्लेर कहाँ कहाँ पुग्नुपर्ने हो भनेर सपना लेख्ने भन्या होइन बजेट भन्या । बजेट भन्या बलियो कार्यान्वयनको तागत त्यस किसिमको तयारीका साथ बजेट आउने हो । कार्यान्वयनको तयारी छैन । अनि गर्छु भन्दा त्यो बजेट हुन्न । त्यो त जसले पनि गर्न सक्छ । अर्थमन्त्री किन चाहियो ? सरकार किन चाहियो ? संसद किन चाहियो ? राजनीतिक पार्टी किन चाहियो ? बजेट आउने प्रक्रिया किन चाहियो ? अनि लेख्यो भन्ने वित्तिकै लेखेकै छ नभन्नु न । त्यो त मिठाई बाड्या कुरा हो । त्यो बजेट होइन ।”

पुर्वाधारमा लगानी बढे पनि कालोपत्रेकै आँकडा नै गलत भएको, गत बर्ष दशककै सबै भन्दा बढी भ्रष्टाचार भएको भन्दै कांग्रेसले अघिल्लो बर्षका कमजोरीलाई सच्याएर शुसासनको क्षेत्रमा गम्भीर बन्न सरकारलाई सुझाव दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);