भारतको विदेशमन्त्रीमा जयशंकर : कस्तो होला नेपाल-भारत सम्बन्ध ? | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

भारतको विदेशमन्त्रीमा जयशंकर : कस्तो होला नेपाल-भारत सम्बन्ध ?

subrahmanyam jaishankar

काठमाडौं, १८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा बिहीबार एक परिचित, तर गैर–राजनीतिक अनुहार देखा परे । धेरै आश्चर्यचकित हुने गरी पूर्वविदेशसचिव डा. सुब्रमण्यम जयशंकरले १४औँ वरीयताको मन्त्रीको शपथ लिए । शुक्रबार जयशंकरलाई विदेशमन्त्री तोकिएपछि मोदी सरकारको छिमेक प्रथम नीति र विशेषगरी नेपाल–भारत सम्बन्धमा उनको व्यक्तित्वले पार्ने प्रभावबारे बहस सुरु भएको छ ।

संविधान निर्माणको आखिरीमा १–२ असोज ०७२ मा मोदीका विशेष दूतका रूपमा नेपाल आउँदा जयशंकरले संविधान जारी गर्ने मिति दुई साता धकेलेर सर्वसम्मत कायम गर्ने मोदीको सन्देश सुनाएका थिए । मोदीको सन्देश भन्दै जयशंकरले प्रस्तुत गरेको भाषाशैली र संविधान जारी भएपछिको भारतीय प्रतिक्रियापछि उनको नकारात्मक छवि नेपालमा चित्रित भयो । भारतले नेपालमा लगाएको नाकाबन्दीको डिजाइनरका रूपमा समेत उनको चर्चा भयो ।

‘जयशंकरजीलाई अनुदार भनियो, तर यथार्थमा उनी प्रधानमन्त्री मोदीको सन्देश लिएर गएका थिए । त्यसपछि भएका नाकाबन्दीलगायत घटनाक्रमको जननी जयशंकर मात्रै होइनन्,’ एकजना पूर्वभारतीय कुटनीतिज्ञले दिल्लीबाट टेलिफोनमा भने ।

राजनीतिक नेतृत्वको लामो पहलकदमीमा नेपाल–भारत सम्बन्ध सुमधुर भएको छ । जानकारहरूका अनुसार यो सम्बन्ध सुधारमा जयशंकरको प्रयास उल्लेखनीय थियो । भारतका लागि पूर्वराजदूत डा. लोकराज बरालले विदेशमन्त्री एस जयशंकरले विगतमा मोदीको नीति कार्यान्वयन गरेको र अब पनि त्यही गर्ने बताए । ‘जयशंकरले चाहेको कुरा लागू हुने होइन, प्रधानमन्त्री मोदीले चाहेको नीति जयशंकरले कार्यान्वयन गर्ने हो,’ बरालले भने, ‘आधारभूत रूपमा नेपाल–भारत सम्बन्ध कोही आउँदा वा जाँदा प्रभावित हुँदैन ।’

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);