आलुमय हेम्जा | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

आलुमय हेम्जा

aalu_hemja

काठमाडौं, २४ चैत । आमा समूहका झाँकी सडककिनारमा लहरै थिए । झाँकीमा पनि महिलाले आलुको माला लगाए। कोही आलुको माला लगाउँदै किसानी गीतको टुक्का गाउँदै थिए। कोही अर्गानिक कृषिको परिचय दिन उद्यत । किसानले आफैंले फलाएको आलुकै माला लगाए, मुलाको चस्मा अनि केराउ र आलुको मालामा सजिने पनि कम्ती थिएनन् । त्यसले गर्दा थप रौनक बढेको थियो।

विभिन्न आमा समूहको झाँकी किसानी गीत गाउँदै महोत्सवस्थाल खेल मैदानसम्म आए। उद्देश्य भने सबैको एउटै थियो– हेमजालाई आलु गाउँ बनाउने। स्थानीयको त्यो अभियान पूरा हुँदै गएको छ। पोखराको हेमजालाई आलुको पकेट क्षेत्र बनाउन बर्सेनि आलु महोत्सव आयोजना गरिँदै आएको छ।

आलुको पकेट क्षेत्र मानिएको पोखरा महानगरपालिका–२५ हेमजामा आलु उत्पादक किसान एकै ठाँउमा भेला भएका छन्। भेला भएका किसानले विष्णुपादुका माविको खेलमैदानमा आपूmले उत्पादन गरेको आलुलाई धमाधम बिक्री गरिरहेका छन्। त्यही आलुको परिकार बेचिरहेका छन् र जान्न चाहेनलाई आलुखेतीबारे सिकाउँदै पनि छन्। आलु बिक्री गर्ने परिपाटी भने हेमजास्थित विष्णुपादुका क्लबले मिलाइदिएको हो। क्लबकै आयोजनामा सुरु भएको दसौं राष्ट्रिय हेमजा आलु महोत्सवमा झन्डै चार सय क्विन्टल आलुलाई एकै ठाँउमा थुप्रो बनाई बिक्री सुरु गरिएको क्लबका अध्यक्ष एवं महोत्सव संयोजक कृष्णबहादुर खड्काले बताए।

‘हामी यसपटक आलुको पहाड नै बनाउँछौं। त्यो पहाडको आलु किनमेल गर्न पाइनेछ,’ उनले भने, ‘आलुको पहाड भनेपछि यसको चर्चा नै बेग्लै हुने गरेको छ।’ आलुको पहाड हेर्नकै लागि पोखरा बजारदेखि १० किलोमिटर टाढाको त्यो गाउँसम्म स्वदेशी र विदेशी पर्यटक पनि पुग्ने गरेका छन्। ‘अहिलेको युवापुस्तालाई आलु फल्ने खेतबारीसमेत थाहा हुँदैन। यो मेलाले कम्तीमा हेम्जालाई आलु गाउँको रूपमा समेत चिनाउनेछ,’ उनले भने, ‘आलु खेतीबारे सिक्न चाहनेका लागि यो अवसर पनि हो।’

महोत्सवबाट किसानले उत्पादन गरेको आलु सर्वसाधारणलाई ३२ रुपैयाँ केजीमा बिक्री गरिएको उनले जानकारी दिए। महोत्सवस्थलमा उपभोक्तालाई बाहिरभन्दा तीन रुपैयाँ सस्तोमा आलु बिक्री गरिएको सुनाए। यसले थोरै भए पनि उपभोक्तालाई राहत पुग्नेछ। एकैपटक धेरै तौलमा आलु किन्न जाने उपभोक्तालाई भने यसले सहयोग गर्ने उनले बताए। ‘स्थानीय उत्पादन पनि हो। यसले गर्दा हेम्जाको आलुप्रति धेरैको चासो हुने गरेको छ,’ उनले भने।

महोत्सवमा बिक्रीका लागि राखिएको आलुलाई पानीले बिगार्ने त्रासका कारण किसान चिन्तित बनेका छन्। बिहान परेको पानीले चिस्यान बढाउँदा किसान आलुमा समस्या आउनेमा चिन्तित देखिएका छन्।

‘हेमजाको आलु विषादीरहित छ। त्यसैले उपभोक्ताको रोजाइमा पर्ने गरेको हो। यहाँको आलु स्वादिलो र छिटो पाक्छ भन्ने उपभोक्ताको बुझाइ छ। स्वादिलो र छिटो पाक्ने भएकाले हेम्जाको आलु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। आलु उत्पादक किसान भन्छन्, ‘त्यसैले उपभोक्ता हेमजाको आलु लिन महोत्सवस्थलमै आउने गर्छन्। कोहीले घरबाटै बेचिसकेका छन्।’ यहाँका किसानले आलु उत्पादनका लागि कुखुराको सुली मात्र प्रयोग गर्ने गरेका छन्। प्रांगारिक मल प्रयोगले पनि विषादीरहित भएको भन्दै उपभोक्ताको पहिलो रोजाइमा हेमजाको आलु पर्ने गरेको छ।

हेमजामा चार सय २५ हेक्टर क्षेत्रफलमा आलु लगाइन्छ। केही स्थानीयले भाडामा दिएका छन्। भाडामा दिएको जग्गामा किसानले आलु उत्पादनसँगै अन्य व्यावसायिक कृषिजन्य उत्पादन गर्दै आएका छन्। सिँचाइ सुविधा, मौसमी सिँचाइको भरमा आलु खेती गरिँदै आएको छ। यो वर्ष भने चार सय क्विन्टल आलु महोत्सवमा बेच्न राखिएको आलु महोत्सवका संस्थापक धर्मराज बाँस्तोला बताउँछन्।

किसानलाई उत्पादन गरेअनुसारको प्रतिफल भने पाएका छैनन्। तर पनि किसानले भने बर्सेनि आलुलाई आफ्नो महŒवपूर्ण नगदेबालीको रूपमा प्रयोग गर्दै आएको उनी बताउँछन्। ‘सहजै बिक्री पनि हुन्छ। हेम्जाको आलु भनेपछि सबैतिर परिचित पनि छ,’ बाँस्तोलाले भने, ‘आलु मात्र नभई यहाँ उत्पादन हुने अरू तरकारीले पनि पहिचान कमाएको छ।’ पोखराको तुलनामा चिसो मौसममा गरिएको खेती भएकाले पनि धेरैको जिब्रोले हेम्जाको आलुको स्वाद पाएको उनले बताए।

हेमजामा झन्डै चार सय ५० हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुँदै आएको छ। अन्नपूर्ण सिँचाइ आयोजनाले तीन सय ५० हेक्टरमध्ये तीन सय २० हेक्टरमा सिञ्चित हँुदै आएको छ। एक सय ८५ हेक्टरमध्ये सय हेक्टर क्षेत्रफल चौरासी नहरले सिँचाइ सुविधा पु¥याउँदै आएको छ। उत्पादकत्व भने प्रतिहेक्टर पाँचदेखि सात टन रहेको स्थानीय किसानको दाबी छ। आलु उत्पादन बर्सेनि मात्र २१ करोड रुपैयाँको हुने गरेको छ। हेमजामा विशेषगरी एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खसमल सेतो र डेजिरे नामक आलु लगाइने गरिएको छ।

‘सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारासहित सुरु भएको महोत्सव १ वैशाखसम्म चल्नेछ। महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हास्यकलाकारको बेजोड प्रस्तुति, जापानी सुन्तला, च्याउ, कफी, चिया बिक्री एवं प्रदर्शनी, विभिन्न कृषि बिउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेको छ। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

पोखरा महानगरपालिकाभित्र हेमजालाई आलुको पकेट क्षेत्र मानिन्छ। हेम्जाले आलु बिक्रीबाट बर्सेनि २१ करोड रुपैयाँ मूल्यबराबरको कारोबार गर्दै आएको छ। उत्पादन भएको आलु बिक्री वितरण गर्ने उद्देश्यले १० वर्षदेखि हेम्जामा आलु महोत्सव हँुदै आएको छ। स्थानीय किसानको कृषि गाउँको रूपमा विकास गर्ने र पर्यटकलाई कृषि गाउँ घुमाउने योजना पनि छ।

मेलाको गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे। महोत्सव उद्घाटन हुनुअघि हेमजाको मिलनचोकबाट विभिन्न रूपमा सजिएका किसान र स्थानीयको झाँकी महोत्सव स्थल पुगेको थियो। आलु मात्र होइन, अन्य स्टल र आलुका परिकारले सबै मन तान्दा हेम्जावासीले उत्सव नै ठानेका छन्। महोत्सव उद्घाटन गर्दै मन्त्री थापाले किसानका समस्या बुझ्ने गरी प्रदेश सरकारले योजना बनाएको बताए। लामो समयसम्म किसानका समस्या सरकारले नसुनेको भन्ने गुनासो आइरहँदा अब त्यो गुनासो प्रदेश सरकारले रहन नदिने उनले बताए। ‘हामी किसानका समस्यासँग निकट छौं। किसानलाई अप्ठ्यारो पर्दा हामी साथ दिनेछौं,’ उनले भने।

आयोजकका अनुसार महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल रहेका छन्। त्यस्तै १५ वटा कृषि उत्पादन बिक्री–वितरण, ३५ वटा व्यापारिक, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोबार तथा पाँचवटा मनोरञ्जनका स्टल रहेको मूल आयोजक समितिका संयोजक खड्काले जानकारी दिए।

हेम्जा घुम्न जाँदा यो बेला आलुको उत्पादन हेर्ने मात्र नभई आलुका विभिन्न परिकार पनि चाख्न पाइन्छ। त्यसबाहेक विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानी सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीलगायत रहेका छन्।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि क्षेत्रको रूपमा देशविदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लब भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको खड्काले बताए।

महोत्सवमा कलाकारको दैनिक प्रस्तुति पनि रहनेछ। पशुपति शर्मा, रामजी खाँड, सम्झना भण्डारी, राजु परियारलगायतका कलाकारका प्रस्तुति पनि रहने सांस्कृतिक उपसमिति संयोजक सूर्यबहादुर कुँवरले जानकारी दिए। कलाकारले दैनिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उनले बताए।