८० रोपनी जमिनमा एकै सिजनमा ६ सय क्विन्टल आलु उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

८० रोपनी जमिनमा एकै सिजनमा ६ सय क्विन्टल आलु उत्पादन

बिमल जैरु
डडेल्धुरा, ४ फागुन । डडेल्धुरा गन्यापधुरा गाउँपालिकाका पाँच जना युवाले सामुहिक रुपमा ८० रोपनी जमिनमा एकै सिजनमा ६ सय क्विन्टल आलुको उत्पादन गरेका छन् । ती युवाले जिल्लाको अमरगढी नगरपालिका–१ ठूली खालीमा भाडामा लिएको ८० रोपनी जमिनमा हिउँदे सिजनमा मात्रै ६ सय क्विन्टल आलुको उत्पादन गरेका हुन् ।

दिनहँु जसो रोजगारीका सिलिसिलामा युवाहरु विदेशिने गरेका बेला डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकाका पाँच जना युवा भने आलु तथा आलुको बीऊ उत्पादनतिर लागेका हुन् । उनीहरुले झण्डै २२ वर्षदेखि बाँझो रहेको ८० रोपनी जमिनलाई भाडामा लिई आलु खेती गरिरहेका छन् ।

आलु खेतिका साथसाथै ती युवाहरुले कृषिमा आधुनिकीकरण कसरी गर्न सकिन्छ भन्नेमा डडेल्धुराका आलु कृषकलाई नयाँ प्रविधिमा आलु खेती गर्न समेत सिकाई रहेका छन् । पहिलो वर्षमै करिव पाँच लाखसम्म आम्दानी गर्न सफल भएको र स्थानिय वासीन्दालाई रोजगारी दिनमा समेत आफुहरु सफल भएको सञ्चालक मध्येका एक दत्तराज अवस्थी बताउँछन् ।

अमरगढी नगरपालिकासहित गन्यापधुरा गाउँपालिकाको आर्थिक सहयोगमा स्थानिय आलु खेती शुरु गरिएको हो । ठुलीखालीमा आलुको बीऊ उत्पादन भएसंगै डडेल्धुरा जिल्लामा आलुको बीऊका लागि आत्मनिर्भर बनेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

विगतका वर्षमा तराईका जिल्लाका साथै भारतबाट समेत आलुको बीऊ आयात हुने गरेको भएपनि अब भने आयात नभई निर्यात गर्ने अवस्थामा डडेल्धुरा जिल्ला पुगेको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकासहित गन्यापधुरा गाउँपालिका र आलिताल गाउँपालिकालाई आलु उत्पादनका लागि पकेट क्षेत्र घोषणा समेत गरिएको छ ।

ठूलीखालीमा गरिएको आलु खेतीमा ३० जना स्थानीयले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । गाउँघरमै रोजगारी पाएपछि आफुहरु खुसी भएको स्थानीयहरु बताउँछन ।

गन्यापधुरास्थित बाँझो जमिनमा पनि आलु उत्पादन गरिएपछि गाउँमा रहेको अन्य बाँझो जमिनलाई पनि सदुपयोग गर्न सकिन्छ भन्नेमा हौसला मिलेको स्थानीयहरुको भनाई रहेको छ । यहाँ उत्पादन भएको आलुको विऊ सुदूपश्चिमका अन्य पहाडि जिल्लामा समेत निर्यात हुन थालेको छ । जिल्लामा आलुको बीऊ उत्पादन बढेसंगै भारतवाट हुने आयातमा कमी ल्याउन सकिने बिज्ञहरु बताउँछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);