उपलब्धिलाई कार्यान्वयनमा लैजानु अबको मुख्य जिम्मेवारीः निःवर्तमान अध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

उपलब्धिलाई कार्यान्वयनमा लैजानु अबको मुख्य जिम्मेवारीः निःवर्तमान अध्यक्ष ढकाल

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको उत्थान र कानूनी अड्चन फुकाउन भएका पहलहरू ऐतिहासिक रहेको बताउनुभएको छ । बुधवार महासंघको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई संस्थाको ठूलो उपलब्धि भएको बताउनु भयो । निःवर्तमान अध्यक्ष ढकालले वर्षौँदेखि थाती रहेका कानूनी परिवर्तनका मुद्दाहरूलाई आफ्नो कार्यकालमा तार्किक निष्कर्षमा पु¥याउन प्रयास गरिएको बताउनु भयो । विशेषगरी वैदेशिक प्रत्यक्ष लगानी र आन्तरिक लगानी प्रवद्र्धन, व्यवसायिक गतिविधि विस्तारमा रहेका बाधा हटाउन महासंघले प्रभावकारी भुमिका खेलेको उहाँले बताउनु भयो । निजी क्षेत्रका लागि वाधक मानिएको ‘कालो बजार ऐन’ र निजी क्षेत्रलाई ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को दायरामा राख्ने जस्ता गम्भीर विषयहरूमा महासंघले सशक्त पैरवी गरेको उहाँको भनाइ छ । साथै, आन्तरिक पूँजी परिचालनमार्फत ठूला आयोजनाहरू अघि बढाउन सकिन्छ भन्ने आत्मविश्वास जगाउन पनि सफल भएको उहाँले दाबी गर्नुभयो । ढकालले आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताका रूपमा सरकारद्वारा स्वीकृत ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति’ रहेको बताउनु भयो ।

महासंघले तयार पारेको मस्यौदालाई वर्तमान सरकारले पहिलो क्याबिनेटबाटै हुबहु स्वामित्व लिएर पारित गर्नु निजी क्षेत्रको इतिहासमा महत्वपूर्ण मोड भएको उहाँले बताउनु भयो । अध्यक्ष ढकालले विगतमा माग पूरा गराउन हड्ताल वा बन्द गर्नुपर्ने परम्परा रहेको बताउँदै अहिले सरकारले निजी क्षेत्रका एजेन्डालाई आफ्नै मानेर अघि बढाउनुले सरकार र निजी क्षेत्रको सम्बन्धमा नयाँ आयाम थपेको ढकालले बताउनु भयो । आफू वरिष्ठ उपाध्यक्ष भएदेखि नै सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिँदै ढकालले नवनिर्वाचित अध्यक्ष र कार्यसमितिलाई पूर्ण समर्थन रहने विश्वास दिलाउनु भयो । उहाँले पदमा रहे पनि वा नरहे पनि आफू सधैँ निजी क्षेत्रको हकहितका लागि उपलब्ध हुने बताउनु भयो ।ढकालले  रोजगारी सिर्जना, राजश्व वृद्धि, पूर्वाधार निर्माण र आम जनतालाई सेवा प्रवाह गर्ने जस्ता सबै क्षेत्रमा नयाँ नेतृत्वसँग मिलेर अघि बढ्न चाहेको बताउनु भयो ।  महासंघमा नयाँ नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको छ भने अञ्जनको समूहका अधिकांश उम्मेदवारी निर्वाचित हुँदा वस्तुगत उपाध्यक्ष भने हेमराजको समूहले जितेको छ ।

वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी हुनुभयो । उहाँले ६३ मत ल्याउँदा प्रतिष्कपर्धी शिव घिमिरेले ६० मत पाउनुभयो । एसोसियटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित हुनुभयो । पाण्डे प्रतिष्पर्धी ज्योत्सना श्रेष्ठलाई ३२९ मतले पछि पार्दै निर्वाचित हुनुभयो ।पाण्डेले १०७९ मत ल्याउँदा श्रेष्ठले ७५० मतमा चित्त बुझाउनुप¥यो । श्रेष्ठ उपाध्यक्षमा दोहोरिन चुनावी मैदानमा उत्रिनुभएको थियो । उहाँ उहाँ हेमराज ढकाल प्यानलकी हुनुहुन्थ्यो । एसोसियट महिला सदस्यमा पनि पाण्डेकै प्यानलका उम्मेदवार निर्वाचित हुनुभयो । जुना माथेमा ११५६ र अभिज्ञा मल्ल १०५९ मतसहित निर्वाचित  हुनुभयो । ज्योत्सनाको प्यानलका शोभा ज्ञवालीले ७२१ र जमुना पौडेलले ७३२ मत पाउनुभयो । एसोसियटतर्फ निर्वाचित अरु १७ सदस्यमध्ये १६ जना पाण्डेको प्यानलका छन् । एसोसिएट सदस्यतर्फ सचिन ढकालले १३१८, हेमन्त गोल्छा १२०२, अम्बिकाप्रसाद पौडेल ११८३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्तिकुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, सुशिल थापा १०९४, राजेशकुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी १०४३, बाबुकाजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्णलाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जीसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछाने ८६० मत ल्याएर विजयी हुनु भयो । बटु ज्योत्सनाको प्यानलका हुनुहुन्छ । जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनुभयो । शर्माले ८७ मत र श्रेष्ठले ८० मत पाउनुभयो । उहाँहरु दुवै जना अञ्जनको समूहका हुनुहुन्छ । केही पदमा अझै मतगणना जारी छ ।

Leave a Reply

ताजा समाचार