मार्जिन कारोबार : ३१ कम्पनीको शेयर मात्र योग्य | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मार्जिन कारोबार : ३१ कम्पनीको शेयर मात्र योग्य

margin karobar

काठमाडौं, १८ चैत – मार्जिन कारोबारका लागि हाल सूचीकृतमध्ये ३१ कम्पनीको मात्र शेयर योग्य देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतवार मार्जिन कारोबारका लागि योग्य धितोपत्रहरूको सूचीमा ३१ कम्पनीको नाम सार्वजनिक गरेको हो । हाल नेप्सेमा २२१ कम्पनी सूचीकृत छन् । नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा वाणिज्य बैंक ११ ओटा मात्र छन् । त्यस्तै, ६ विकास बैंक, ९ लघुवित्त कम्पनी, तीन जलविद्युत्, एक होटल र एक अन्य कम्पनी छन् ।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तीमा १० हजार शेयरधनी भएको, खुद सम्पत्ति चुक्तापूँजीभन्दा कम नरहेको र पछिल्लो २ आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्ने उल्लेख छ । यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महीनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनीको शेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ । सोहीअनुसार कम्पनीहरूको शेयर आर्थिक वर्ष २०७५/७६ का लागि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेको सूचनामा उल्लेख छ ।

अनलाइन कारोबारमा ५९६ लगानीकर्ता सक्रिय
हाल धितोपत्र दोस्रो बजारमा अनलाइन कारोबार प्रणालीमार्फत दैनिक ५९६ लगानीकर्ता सक्रिय छन् । नेप्सेका अनुसार गत कात्तिक २० देखि औपचारिक रूपमा शुरू भएको उक्त प्रणालीमा हालसम्म ३ हजार ५५७ जना लगानीकर्ता आबद्ध भएका छन् । उक्त प्रणालीमार्पmत हालसम्म २ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यसमा उच्च कारोबार २० करोड रुपैयाँसम्मको छ । नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा शुरूदेखि नै समस्या देखिएको छ ।

३ वर्षयता थलिएको पूँजीबजारलाई उठाउन अनलाइन प्रणालीले सहयोग पुर्‍याउने आशा पूरा नहुँदा लगानीकर्ता निराश छन् ।

नेप्सेले भने दोस्रो बजार विकासका लागि अनलाइन प्रणाली कोसेढुंगा सावित हुने बताउँदै आएको छ । अनलाइन कारोबारलाई व्यवस्थित गर्दै लैजान नयाँ प्रणालीबाट वेबसाइटमा डाटा डिस्प्ले गर्दा डाटा स्ट्रक्चरमा देखिएको समस्या समाधान गरी रियल टाइम मात्र देखाइने गरेको नेप्सेले जानकारी दिएको छ । ‘डाटा मिस म्याच’ले गर्दा ‘यूसीसी जेनेरेट’ नहुने समस्यालाई ‘डाटा क्लिन’ गरी समाधान गरिएको नेप्सेको भनाइ छ । अनलाइन कारोबारपछि नयाँ सूचीकरण हुने कम्पनीको पहिलो दिन हुने कारोबारका लागि छुट्टै सत्रको व्यवस्था नेप्सेले गरेको छ । नेप्सेको प्रणाली सीडीएस एन्ड क्लियरिङ हाउस लिमिटेडको प्रणालीमा आबद्ध गराई क्लियरिङ हाउसका सदस्य (बैंक तथा वित्तीय संस्था) मार्फत अनलाइन हस्तान्तरणको व्यवस्था मिलाउने प्रक्रिया अगाडि बढाइएको भनाइ छ ।

मंगलवारदेखि नयाँ सर्किट ब्रेकर
नेप्सेले चैत १९ गते मंगलवारदेखि नयाँ सर्किट ब्रेकर प्रणाली लागू गर्दै छ । नेप्से सूचकांक बढ्दा र घट्दा लाग्ने हालको सर्किट ब्रेकरको व्यवस्थालाई परिवर्तन गर्न लागिएको हो । सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन आवश्यक देखिएको उल्लेख गर्दै उच्चस्तरीय सरकारी सुझाव समितिले उक्त व्यवस्थालाई तत्काल परिवर्तन गर्न बोर्ड र नेप्सेलाई सुझाएको थियो । सोही निर्देशन बमोजिम बोर्डको स्वीकृतिमा नेप्सेले सर्किट ब्रेकर प्रणाली परिवर्तन गर्न लागेको हो । हालको कारोबार समयलाई यथावत् राखी १ घण्टामा ४ प्रतिशतले घटबढ भएमा १५ मिनटका लागि कारोबार स्थगित गर्ने, स्थगित कारोबार पुनः खुलेपछि ५ प्रतिशत परिवर्तन भएमा ३० मिनटका लागि स्थगित गर्ने र त्यसपछि खुलेको कारोबारमा ६ प्रतिशत परिवर्तन भएमा उक्त दिन बाँकी समयको पूरै कारोबार स्थगित हुने व्यवस्था लागू गर्न लागिएको छ । उक्त व्यवस्था अन्तरराष्ट्रिय अभ्यास अनुकूलको रहेको नेप्सेको भनाइ छ ।

हाल जारी सर्किट ब्रेकर प्रणालीमा कारोबार खुलेको पहिलो १ घण्टामा ३ प्रतिशत परिवर्तन भएमा १५ मिनट, त्यसपछि पनि परिसूचकमा ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनट र उक्त स्थगन खुलेको कारोबारमा पुनः परिसूचकमा ५ प्रतिशत परिवर्तन भएमा उक्त दिन बाँकी समयको पूरै कारोबार स्थगित हुने व्यवस्था छ ।

के हो सर्किट ब्रेकर ?
धितोपत्र दोस्रो बजार मार्फत कारोबार हुने धितोपत्रहरूको बजार मूल्यमा अप्रत्याशित रूपमा परिवर्तन आएमा सो धितोपत्रको कारोबारमा निश्चित समयका लागि रोक लगाइने प्रणालीलाई सर्किट ब्रेकर भनिन्छ । यो समाचार अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);