सात महिनामा १२९ अर्बको कृषिजन्य वस्तु आयात | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सात महिनामा १२९ अर्बको कृषिजन्य वस्तु आयात

tarkari falful

काठमाडौं, १५ चैत । कृषिप्रधान मुलुक नेपालले पछिल्लो सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको छ । कृषि क्षेत्रको विकासका लागि सरकारले बर्सेनि बजेट बढाउँदै लगे पनि मागअनुसार स्थानीय उत्पादन नहुँदा बर्सेनि डेढ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएकोे हो । छिमेकी मुलुक भारतबाट अधिकांश कृषिजन्य वस्तुको आयात हुने गर्छ । स्वदेशी वस्तुको निर्यात समेत भारतमै धेरै हुने गर्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात भएको छ । कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्यून रहेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलोमात्रमा कृषिजन्य वस्तु आयात हुने गर्छ । अघिल्लो वर्ष सोही अवधिमा एक सय ६ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो ।

व्यापारविज्ञ पुरुषोतम ओझा खाद्यान्नको उत्पादन बढाउन नसक्दा कृषिजन्य वस्तुको आयात बढ्दै गएको बताउँछन् । कृषि उत्पादन कम हुनु, कृषि पेशामा आकर्षण घट्दै जानु र काम गर्ने जनशक्ति रोजगारीका लागि खाडि मुलुकमा गएकाले उत्पादन घट्दा आयात बढ्दै गएको उनको भनाइ छ । “स्वदेशी वस्तु निर्यातमा विभिन्न अवरोध हुने गर्छ,” उनले भने, “बाहिरबाट आउने वस्तु सहज ढंगले भित्रिने गरेकाले आयातदर बढ्दै गएको छ ।”

सात महिना २० अर्ब ५५ करोड रुपैयाँको चामल आयात भएको केन्द्रको तथ्यांक छ । सो अवधिमा ९ अर्ब ५५ करोड रुपैयाँको तरकारी आयात भएको छ । यस्तै, ९ अर्ब ८३ करोड रुपैयाँ बराबरको फलफुल, सात अर्ब ७२ करोडको मकै आयात भएको केन्द्रको तथ्यांकले देखाएको छ भने ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल,३ अर्ब ८३ करोडको सूर्यमुखी तेल आयात भएको छ । यस्तै एक अर्ब रुपैयाँ बराबरको डेरी उत्पादन आयात भएको छ ।

भारत सरकारले कृषिमा प्रयाप्त अनुदान दिएकाले सस्तो मुल्यमा तरकारी भित्रिने गर्छ । स्वदेशी उत्पादनको लागत महँगो पर्ने हुँदा भारतीय उत्पादनसँग प्रतिस्पर्धा नसक्दा सस्तो मूल्यमा तरकारी आयात हुने गर्छ । यो वर्ष मुलुकमा धानको उत्पादन बढेपनि चामलको आयात भने कम हुन सकेको छैन । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि आर्बौं रुपैयाँको खाद्यान्न आयात हुने गरेको छ । पछिल्लो समय खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, जनशक्तिको अभाव, खानेबानीमा परिवर्तन लगायतले गर्दा पनि चामलको आयात बढ्दै गएको कृषि विज्ञ बताउँछन् ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन । नेपालबाट ऊनी गलैंचा,तयारी पोशाक, जुट तथा जुटका सामानहरू, जुस, चिया, कपडा, अलैंची, पश्मिना लगायतका अन्य सामान निर्यात हुने गर्छ । .
सात महिनामा गलैचाको निर्यातमा १०.१ प्रतिशतले वृद्धि भई ४ अर्ब २१ करोडको निर्यात भएको छ । फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यातमा ३१.४ प्रतिशतले वृद्धि भइ ४ अर्ब ३५ करोड भएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);