Our Network

मंसिर १३ २०७८, सोमबार

कृषि प्रधानमुलुक नेपाल परनिर्भर उन्मुख (भिडियोसहित)

वार्षिक २ खर्ब बढी कृषिजन्य सामग्री आयात, भान्छामा आवश्यक हरेक वस्तु आयातमै निर्भर


काठमाडौं, १५ असोज । नेपाल कृषिप्रधान देश हो । तर सिङ्गो एउटा युग बित्न लागिसक्दासमेत मुलुक कृषिमा आत्मनिर्भर हुन सकेको छैन । बरू मुलुक परनिर्भरतातिर उन्मुख हुँदै गएको छ । मुलुकमा हरेक वर्ष २ खर्ब रूपैयाँ बढी कृषिजन्य समग्री विदेशबाटै आयात हुँदै आएको छ । कृषिप्रधान मुलुक नेपालमै पर्याप्त उत्पादन गर्न सकिने मकै ब्राजिलबाट आयात हुने गरेको छ ।

दलहन लगायतका कृषिजन्य सामग्री जर्मन, स्पेन, पोर्चुगल र बंगलादेशबाट आयात हुने गरेको छ । तरकारीजन्य र अन्य कृषिजन्य समग्री भारतबाट आयात हुने गरेको छ । सरकारले कृषि क्रान्तिका नारा बेला बेलामा ल्याइए पनि योजना बिनाको नारा सावित भइरहेको छ ।

हामी कतिको परनिर्भर बन्दैछौं भनि इजरायललाई हेरेर पनि भन्न सकिन्छ । भौगोलिक रूपमा नेपाल भन्दा सात गुणा सानो इजरायलमा ६० प्रतिशत क्षेत्रफल मरूभूमि छ । समयमा पानी पनि पर्दैन । तर पनि इजरायलको कुल जनसंख्याको १ दशमलव ७ प्रतिशत अर्थात् करिव ७३ हजार जनता कृषि पेसामा आबद्ध छन् । न्यून जनसंख्या कृषिमा सक्रिय हुँदा समेत उसले २१ मुलुकमा पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी निर्यात गर्दै वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ ।

नेपालसँग पर्याप्त उर्वर जमिन छ । पर्याप्त पानी छ । पर्याप्त सिंचाईको व्यवस्था गर्न ससकिने आधार छ । तर पनि आधुनिक कृषि प्रणालीको योजना नहुँदा मुलुक दिनानुदिन परनिर्भरताको बाटोमा उन्मुख छ । कृषिमा यान्त्रिकीकरणमा योजना नै छैन । अहिले पनि मुलुकमा कृषिजन्य सामग्री आयातको अवस्था हेर्ने हो भने वार्षिक २ खर्ब रूपैयाँ बढीको आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ । आयात सामाग्रीको विवरण हेर्दा मुलुकमै उत्पादन गर्न सकिने माछा र मासुजन्य वस्तु आयातमै निर्भर छ ।

दूधमा आत्मनिर्भर उन्मुख बनेको नेपालमा दूध र दुग्धजन्य पदार्थ पनि ठूलो परिमाणमा आयात हुँदै आएको छ । दुग्ध जन्यतर्फ ठूलो परिमाणमा चिज, वटर, धुलो दूध, क्रिम, तयारी दूधलगायतका वस्तु आयात हुँदै आएको छ । प्रशोधित र अप्रशोधित चिया र कफी पनि विदेशबाटै आयात भइरहेको छ । यतिमात्र हैन भान्छामा आवश्यक हरेक वस्तु आयातमा निर्भर छ ।

यसले नेपाल कृषिप्रधान देश हो भन्न पनि लाजमर्दो अवस्था सृजना गरिसकेको छ । मुलुक युवाशक्ति रेमिट्यान्सको लोभमा विदेशीलाई बिक्री गरेर चराले विष्ट्याउँदा फल्ने र फुल्ने उर्वर जमीन बाँझो राखेर कृषि क्रान्तिको हौवा पिटिरहेको छ । तर कृषि क्रान्ति के हो ? कसरी गर्ने ? भन्ने ठोस योजना ल्याएर सरकारले काम गर्न सकेको छैन । केवल कृषि क्रान्तिको गुलियो नारा दिएर नागरिकलाई भुल्याइरहेको छ ।

कृषि क्रान्ति नारामा होइन व्यवहारमा लागु गर्ने हो भने कृषि उत्पादन प्रणालीमा आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण हुँदै कृषि औद्योगिकीकरणमार्फत कुल राष्ट्रिय आयमा उच्चस्तरको वृद्धि ल्याउनु पर्दछ । श्रम खोज्दै विदेशिने युवा शक्तिलाई मुलुकभित्रै कृषिमा पर्याप्त रोजगारी सृजना गरेर अवसर दिन सक्नु पर्दछ । कृषि क्रान्तिबाट ग्रामीण कृषि क्षेत्रमा रहेको व्यापक बेरोजगार, अदक्ष र गरिब श्रमशक्ति विस्थापित गरी प्रति व्यक्ति आयमा व्यापक बढोत्तरी गरिनु पर्दछ ।

विद्यमान परम्परागत कृषि प्रणालीमा परिवर्तन ल्याएर संरचनागत, प्रणालीगत, व्यवहारगत समस्याहरूको निवारण गरी कृषि पेसालाई सम्मानित कर्मको रूपमा स्थापित गर्नु अहिलेको आवश्यकता हो ।

Leave a Reply