आयातित कच्चापदार्थको भरमा दाना उद्योग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आयातित कच्चापदार्थको भरमा दाना उद्योग

चितवन । नेपाल पोल्ट्रिजन्य उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । माग अनुसारको कुखुरा तथा गाईभैंसीको दाना उत्पादनमा पनि नेपाल सक्षम बनिसकेको छ । तर, कुखुरा तथा गाईभैंसीका दाना उत्पादनमा भने यहाँका उद्योगहरू आयातित कच्चापदार्थको भरमा चल्नु परेको छ ।

नेपाललाई कृषिप्रधान देश भनिन्छ । कृषिमा क्रान्तिका लागि भन्दै विभिन्न आयोजना, परियोजना र अनुदानहरू पनि वितरण गर्ने गरिन्छ । कुखुरा तथा गाईभैंसीको दानामा प्रयोग हुने ८५ प्रतिशतभन्दा बढी कच्चापदार्थ आयात हुने गरेको छ ।

सन् २०२१ को तथ्यांक अनुसार नेपालमा ११३ वटा दाना उद्याग दर्ता भएका छन् । तीमध्ये ५६ वटा कुखुराको दाना उत्पादन गर्ने उद्योग छन् । नेपालमा दाना उद्योगमा झण्डै ७० अर्ब लगानी रहेको छ । औद्योगिक वार्षिक वृद्धिदर पाँच प्रतिशत छ । 

चितवनमा मात्रै कुखुराका दाना उत्पादन गर्ने २३ वटा र गाईभैंसीका दाना उत्पादन गर्ने १५ वटा उद्योग छन् । दानामा स्वच्छता तथा गुणस्तर कायम राख्ने विषयमा सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँका उद्योगीहरूलाई प्रशिक्षण दिएको छ । 

दैनिक १२ हजार ५०० टन दाना उत्पादन गर्ने नेपालका दाना उद्योगका क्षमता भए पनि दैनिक तीन हजार टन मात्रै उत्पादन हुने गरेको छ । यद्यपि उत्पादन भइरहेको दानाले नै यहाँको माग धानेको छ । दाना उत्पादनमा पनि नेपाल आत्मनिर्भर छ ।

यहाँका दाना उद्योगहरू कच्चा पदार्थमा भने परनिर्भर हुनुपरेको छ । कच्चा पदार्थमा भारत, चीन, अमेरिका, ब्राजिल, अर्जेन्टिनालगायतका देशहरूसँग निर्भर हुनुपरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. सुवीर सिंह बताउँछन् ।

‘दाना उद्योग उद्योगहरूको पनि उद्योग हो’, उनी भन्छन्, ‘यसले कृषि, होटेल क्षेत्रलगायत थुप्रै क्षेत्रहरूलाई चलायमान बनाएको छ । तर यी उद्योगहरू भने कच्चापदार्थमा परनिर्भर हुनुपरेको छ ।’ गत आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख ९५ हजार टन मकै आयात भएको उनी बताउँछन् । 

नेपालमा उत्पादित करिब एक लाख पाँच हजार टन मकै यहाँ खपत भएको देखिन्छ । दानामा हाल्नुपर्ने प्रोटिनका स्रोतहरू सोया तेल, सूर्यमुखी तेल, तोरीलगायतका कच्चापदार्थ ९९ प्रतिशत आयात हुने गरेको उनले बताए । 

नेपालमा वार्षिक २७ लाख टन मकै उत्पादन हुने गर्छ । पोल्ट्री क्षेत्रमा मात्रै वार्षिक सात लाख टन खपत हुने गरेको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेल बताउँछन् ।

‘सरकार कृषिप्रति अनुदान बनेकै कारण वर्षेनी लाखौँ टन मकै आयात गर्नुपरेको हो’, उनी भन्छन्, ‘कृषिमा लगानी बढाउनुपर्छ । तीन वटै बाली हुने ठाउँ प्रशस्त छ । त्यस कारण कृषिजन्य उत्पादनमा किसानहरू पनि जागरूक गराउनुपर्छ ।’

दानाका कच्चापदार्थ आयात गर्दा यहाँ दानाको मूल्यवृद्धि हुन जाने उनले बताए । सरकारले भटमास र पिनामा ९ प्रतिशत र मकैमा ५ प्रतिशत भन्सार लगाउने गरेको भन्दै उनले स्वदेशी उत्पादन प्रशस्त भएमा दानाको मूल्य पनि कम हुन जाने बताए । 

दानामा गुणस्तर कायम राख्न आग्रह

खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख एवम् वरिष्ठ खाद्य अनुसन्धान अधिकृत क्षितिज श्रेष्ठले दानामा गुणस्तर कायम राख्न उद्योगहरूलाई आग्रह गरेका छन् । दानामा गुणस्तर कायम राख्न नसकिए दूषित दानामा हुने विष पशुपंक्षी हुँदै मानिसको शरीरमा प्रवेश गर्ने र त्यसले क्यान्सर हुने उनले बताए ।

दाना बनाउन प्रयोग हुने मकै, भटमासलगायतका कच्चापदार्थमा ढुसी लाग्न दिन नहुने उनी बताउँछन् । ढुसीमा हुने माइकोटक्सिन विष पशुपंक्षी हुँदै मानिसको शरीरमा प्रवेश गर्न सक्ने उनले बताए । जिल्लाका केही दाना उद्योगले दानामा एन्टिबायोटिक समेत प्रयोग गर्ने गरेको थाहा पाएको भन्दै उनले सुधार नगर्ने उद्योगलाई कारबाही गरिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);