महामारीपछि अण्डा उत्पादन आधाले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

महामारीपछि अण्डा उत्पादन आधाले गिरावट

चितवन । नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ । कोरोना महामारीपछि भने अण्डाको उत्पादनमा गिरावट आएको छ । उत्पादनमा गिरावट आएपछि अण्डाको मूल्य बढेको छ ।

कोरोनाका कारण नेपालमा लेयर्स कुखुराको अण्डा उत्पादन दैनिक ३० लाख गोटाले घटेको छ । कोरोनाअघि दैनिक ६० लाख गोटा अण्डा उत्पादन हुने गरेकामा अहिले दैनिक ३० लाख गोटा मात्रै उत्पादन भइरहेको छ । कोरोना महामारीमा लकडाउन हुँदा अण्डा उत्पादक किसान घाटामा पुगेका हुन् । अहिले भने अण्डा उत्पादक किसानहरू फाइदामा छन् ।

चितवनमा मात्र हाल दैनिक आठ लाख गोटा अण्डा उत्पादन हुने गर्छ । कोरोनाअघि यहाँ दैनिक १२ लाख गोटा अण्डा उत्पादन हुने गर्थ्याे । जिल्लामा करिब छ सयजना अण्डा उत्पादक किसान छन् । देशभर दुई हजार दुई सय भन्दा बढी छन् । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको छ ।

कोरोनाअघि देशभरको अण्डा उत्पादनमा चितवनको मात्र करिब ५० प्रतिशत हिस्सा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईं बताउँछन् । अहिले त्यो घटेर ३० प्रतिशतमा सीमित छ । ‘केहि वर्ष पहिलेसम्म चितवनको उत्पादनले ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गर्थ्याे । अहिले पूर्व र पश्चिमका विभिन्न जिल्लामा ठूला पोल्ट्री फर्महरू स्थापना भएका छन् । त्यसले गर्दा चितवनको उत्पादनले दिने योगदान घटेको छ’, उनले भने ।

दुई वर्षअघि एक क्रेट ठूलो अण्डाको मूल्य दुई सय रुपैयाँ थियो । कोरोना महामारी सुरु हुनुअघि पनि करिब तीन सयको हाराहारीमा थियो । महामारीका बेला किसानका अण्डा सहज रूपमा बिक्री हुन सकेन । कुखुरालाई लामो समयसम्म महंगो दाना खुवाएर पाल्नुपर्दा किसानहरु घाटामा पुगेका हुन् ।

अहिले भने एक क्रेट ठूलो अण्डाको मूल्य ४१५ रुपैयाँ पुगेको छ । एक क्रेटमा ३० गोटा अण्डा हुन्छन् । उत्पादन घट्दा अण्डाको मूल्य बढेको हो । दानाको मूल्य दोब्बरले बढेकाले अण्डाको मूल्य बढेपनि बाहिरबाट हेर्दा जस्तो फाइदा नरहेको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले बताए ।

‘दुई वर्षअघि दानाको मूल्य प्रतिकेजी ३२ रुपैयाँ थियो । त्यतिबेला सरकारले नै अण्डाको लागत मूल्य ११ रुपैयाँ ५८ पैसा तोक्यो । अहिले दानाको मूल्य दोब्बरले बढेको छ । त्यसो हुनाले लागत मूल्य पनि बढेर १५ देखि १६ रुपैयाँसम्म पुगेको छ । बाहिरबाट हेर्दा अण्डाको मूल्य बढेको जस्तो देखिए पनि भित्र वास्तविकता त्यस्तो छैन’, उनले भने ।

अण्डाको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउँछन् । ‘अण्डाको मूल्य अहिलेसम्मकै उच्च हो । यद्यपि दानाको मूल्य पनि बढेकाले किसानहरू न फाइदा न घाटाको अवस्थामा छन्’, उनले भने, ‘दानाको लागि भारत लगायतका देशबाट भटमास र मकै आयात गर्नुपर्छ । त्यसको मूल्य बढेको छ । त्यति मात्रै नभएर भन्सार शुल्क पनि बढेको छ ।’

उनका अनुसार दानाको लागि चाहिने ७० प्रतिशत भन्दाबढी भटमास विदेशबाट आयात हुने गरेको छ । कोरोनाअघि भटमास प्रतिकेजी ४५ रुपैयाँमा पाइन्थ्यो । अहिले प्रतिकेजी ११५ रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् । त्यसैगरी, कोरोनाअघि प्रतिकेजी २२ रुपैयाँसम्ममा पाइने मकै अहिले ३५ रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।

यस्तो वस्तुको आयातमा सरकारले भन्सार शुल्क चार प्रतिशतबाट बढाएर ११ प्रतिशत पुर्‍याएको उनी बताउँछन् । हाल नेपालमा प्रति हप्ता एक लाख ५० हजार गोटा लेयर्सका चल्ला र दैनिक तीन हजार मेट्रिक टन दाना उत्पादन भइरहेको मञ्चले बताएको छ । मञ्चले शुक्रबार २६औँ विश्व अण्डा दिवस मनाइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);