इलामका किसानहरु चिया खेती छाडेर रबर खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

इलामका किसानहरु चिया खेती छाडेर रबर खेतीतर्फ आकर्षित

jhapa

टिका खतिवडा
इलाम, २ चैत । इलाम जिल्लाकै पहिचानका रुपमा रहेको चिया खेती गर्ने बारीहरुमा अहिले रबरको खेती भईरहेको छ । चिया खेतीमा भन्दा कम लगानीमा बढी फाइदा हुने भएपछि स्थानीयहरु चियाबारी भित्र रबर खेती गर्न थालेका हुन् ।

इलाम भन्ने बित्तिकै जोकोहीलाई पनि आकर्षक चियाबारीको याद आउँछ । त्यहि चियाबारीमा रमाउन वर्षेनी हजारौँको संख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । तर अहिले चियाबारीमा रबर खेती पनि गर्न थालिएको छ ।

दक्षिणी इलामको माइ नगरपालिकास्थित चिलिमकोट र सोक्तिम चिया बगानमा आजकल चिया भन्दा धेरै रबरका रुखहरु देख्न पाइन्छ । थोरै लगानीबाट धेरै फाइदा हुने भएपछि चिया बगानमा रबर खेती विस्तार गरिएको छ ।

सरकारबाट ५० वर्षका लागि चिया वगान लिजमा लिएको संघाइ समूहले चिलिमकोटसँगै सोक्तिम चिया बगानमा पनि रवर खेती विस्तार गरेको छ । रबर खेतीमा श्रमीक र लगानी कम लाग्ने तर आम्दानी धेरै हुने भएकाले रबर खेती विस्तार गरिएको हो ।

कच्चा रबरको बिक्रीबाट नै समूहले यो वर्ष १४ लाखको आम्दानी गरेको छ । विगत तीन वर्षदेखि समूहले कच्चा रवर उत्पादन शुरु गरेको हो । चिलिमकोट चिया बगानमा एक सय ६३ हेक्टर क्षेत्रफलमा ७४ हजार रवरका विरुवा लगाइएको छ।

यस्तै सोक्तिम चिया बगानमा दुई हजार पाँच सय विरुवा लगाइएको छ । यी रवरका रुखबाट खोटो उत्पादन हुन थालेको तीन वर्ष भइसकेको छ । उत्पादित रबरको कच्चा पदार्थको लागि बजारको कुनै समस्या पनि नभएको पौडेल बताउँछन् ।

माघ, फागुन, चैत बाहेक अन्य महिनामा रबर उत्पादन गरिन्छ । रबरको रुखबाट खोटो संकलन गरि त्यसलाई पकाएर कच्चा रबर बनाइन्छ । उत्पादित रबरको इलाममा नै प्रशोधन गरेर रबर उद्योगहरुमा पठाउने गरिएको छ ।

झापाको सुरुङगा, विराटनगर लगायतका स्थानमा जम्मा ६३ वटा रबर उद्योग संचालनमा रहेकोे छ । इलाम बाहेक झापा, मोरड., सुनसरी जिल्लाका नीजि क्षेत्रमा रबरको व्यवसायिक खेती गरिएको छ ।

वातावरणीय रुपमा अध्ययन भइनसकेको र सरकारसँग भएको सम्झौता विपरीत रबर लगाइएको भन्दै स्थानीय भने निराश छन् । पुराना चिया बगानमा चिया मासिँदै गएको र अन्य झार जंगल बृद्धि भएकोमा स्थानीय चिन्तित भएका हुन् । यसतर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);