हात्तीबाट बच्न चिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हात्तीबाट बच्न चिया

elephant

झापा, १९ भदौ । धानबाली होस् कि कोदोबारी मकैबारीदेखि खरबारीसम्म हात्तीले केही नराख्ने भएभरको लगानी र श्रम हात्ती आतंकले खेरै जाने भएपछि बाहुनडाँगीका बासिन्दाले नौलो जुक्ति निकाले अन्नको साटो किसानले चिया खेती रोज्न थाले ।

हात्तीले मन नपराउने र चियाबारीमा पसे पनि खासै नचलाउने भएपछि क्षति रोकिएको छ । ‘हात्तीले चिया खाँदैन । बारीमा पसे पनि तर्केर हिँड्छ,’ कृषकहरू हात्तीबाट बाली जोगाउन चियाप्रति आकर्षित भएको जानकारी दिँदै जिल्ला वन कार्यालयका डीएफओ बोधराज सुवेदी भन्छन् ।

मेची नदी तरेर सीमापारिबाट आउने उद्दण्ड हात्तीले स्थानीय वर्षौंदेखि मारमा छन् । हात्तीले बालीनालीमा क्षति मात्र होइन, सर्वसाधारणको ज्यानै लिएका छन्। अन्नबाली फुल्ने, फल्ने र भित्र्याउने बेलासम्मै हात्तीको रजाइँ हुन्छ ।
आमडाँगीका कृषक हरि अधिकारीले धान खेती हुने जमिनमा चिया लगाएर आम्दानी लिन थालिसकेका छन् । ‘हात्तीले सधैं अन्नबाली सखाप पार्‍यो, कति कराउनु, कहाँ–कहाँ गुहार्नु । पछि मैले चिया खेती सुरु गरें,’ अधिकारी भन्छन्, ‘अहिले ठूलो तनाव हट्यो ।’ उनले करिब ५ बिघा ७ कट्ठा जमिनमा चिया खेती गर्दै आएका छन् ।

हात्तीको वितण्डाबाट आजित भएपछि बाहुनडाँगीका कीर्तिराज भारतीले १० वर्षअघि अन्नबाली मासेर चिया खेती थालेका थिए । करिब ७ बिघा जमिनमा सुरु गरेको चिया अहिले करिब ४० बिघाजति क्षेत्रमा विस्तार गरिएको छ । भारतीलाई पछ्याएर अर्का स्थानीय अर्जुन कार्कीले पनि चिया खेती सुरु गरे । ‘हात्तीकै कारण हामी खेतीको विकल्प खोज्न बाध्य भयौं,’ उनी भन्छन् । अहिले यो क्षेत्रका करिब ३ सय किसान चिया खेतीमा आबद्ध भइसकेका छन् । स्थानीय शुभ चिया किसान सहकारीका अध्यक्ष शमशेरबहादुर खडकाले यस क्षेत्रका अधिकांश किसानले चिया खेती सुरु गरिसकेको बताए ।

सरकारको करिब ८ करोड अनुदानमा किसानको आफ्नै कारखाना पनि बन्दै छ। जिल्ला वन कार्यालयका अनुसार ५ वर्षयता हात्ती आक्रमणमा परी ३५ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । १ हजार ७ भन्दा बढी घरधुरीको अन्नबाली क्षति भएको छ । कार्यालयले यो अवधिमा करिब ३ करोड रुपैयाँ राहत रकम वितरण गरेको छ । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);