काठमाडौं, १९ फागुन । महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरपरिसर झकिझकाउ पारेर सिंगारिएको छ । यसबर्षको शिवरात्री पर्व सोमवार परेको छ । महाशिवरात्रीमा पशुपति नाथ मन्दिरको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।
पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको कोषले जनाएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।
पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ । कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । ज्येष्ठ नागरिक र अशक्तलाई भने लाइनमा नबसी दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कोषले जनाएको छ ।
शिवरात्रीका लागि यसपटक पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको संख्या बढेको छ । भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा शिवरात्री पर्व परेकाले साधुसन्तको भीड बढेको कोषले जनाएको छ । पुशपतिनाथको दर्शन गर्न देश बिदेशबाट दर्शनार्थीहरु आउने क्रम सोमवार सम्म जारी रहने पनि कोषले जनाएको छ ।