मन्त्री अधिकारीको निधनप्रति नेकपाको गहिरो शोक व्यक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

मन्त्री अधिकारीको निधनप्रति नेकपाको गहिरो शोक व्यक्त

काठमाडौं, १६ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रिय सदस्य समेत रहेका दिवंगत मन्त्री अधिकारीसहित ७ जनाको निधन भएकोमा एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

पार्टीका कन्द्रिय सदस्य समेत रहेका दिवंगत मन्त्री अधिकारीसहित ७ जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले मन्त्री अधिकारीको सम्मानमा देशभरका सबै पार्टी कार्यालयहरुमा बिहीबार पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । त्यसैगरी सबै पार्टी कार्यालयहरुमा ३ दिनसम्म शोक पुस्तिका राखिने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाले मन्त्री अधिकारीको श्रद्धाञ्जलीका लागि आगामी फागुन २३ गते बिहीबार पार्टी केन्द्रिय कार्यालयको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

सचिवालय बैठकले मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सातै जनाका परिवारको आर्थिक स्थिति र आवश्यक्तालाई समेत ध्यानमा राखेर उपयुक्त आर्थिक सहायता उपलब्ध गराउन पनि सरकारलाई अनुरोध गरेको छ ।

बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको शवलाई आजै काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंज पु-याउने र मन्त्री अधिकारीको शवलाई भने अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय पनि गरेको छ । पोष्टमार्टम पछि मन्त्री अधिकारीको शवलाई अन्त्यष्टिका लागि गृह जिल्ला पोखरा लगिने र अन्यको शव भने परिवारलाई जिम्मा दिने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

बुधबार दिउँसो ताप्लेजुङको सिस्नेखोला नजिक प्रतिकूल मौसमका कारण हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार सातै जनाको निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);