भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने नेकपाको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने नेकपाको अडान

nekapa baithak

काठमाडौं, २१ माघ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गर्ने पार्टीको अडान दोहोर्याएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहाँका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्याएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले यस अघि जारी गरेको वक्तब्य बिवादमा आएपछि सचिवालय बैठकले पार्टीको आधिकारिक धारणा प्रस्ट्याएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान स्पष्ट पार्दै त्यसमा कुनै पनि भ्रम नराख्न र सो सम्बन्धि विषयलाई लिएर गलत प्रचार नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले आफ्नो पार्टीको विदेश नीति र सम्बन्धमा कुनै अन्यौल र दुविधा नभएको पनि स्पष्ट पारेको छ । प्रवक्ता श्रेष्ठले संयुक्त राष्ट्र संघको बडा–पत्र र पञ्चशीलको सिद्धान्तप्रति आफनो पार्टी सदा प्रतिवद्ध रहेको समेत बताए ।

यसैगरी बैठकले पार्टीको एकता प्रक्रिया टुंग्याउनका लागि गठित कार्यदललाई मंगलवारसम्म आफनो प्रतिबेदन बुझाउन निर्देशन दिएको छ ।